वीरता डरायो, लाजशरम हरायो

शनिबार, २५ फागुन २०७५, ०९ : ४०

  - अजय गोर्खाली
    ‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो ...’ । कुनै देशभक्त नेपाली नहोलान्, यो राष्ट्रिय गीत नसुन्ने ! यसमै गाइएको एउटा हरफमा भनिएको छ, ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न ’ । अति मार्मिक यो भाव हामीमा मर्दै गएको हो अचेल ? किन जिउँदो लास जस्तो लाज पचेका भयौं हामी ? 
    टोपीको देश भनेर संसारमाझ चिनिएको नेपाल । हाम्रा वीर पुर्खाले देशको सिमानाको लागि कालापानी, नालापानीमा प्रदर्शन गरेको वीरता जस्तै विश्वसामु सभ्यताको अनुपम उदाहरण दिएका थिए । कसैको अन्याय, अत्याचार सहेनन्, जसरी आफू मरेर पनि मुलुकको स्वाभिमान, स्वतन्त्रतालाई जिवित राखेका थिए, त्यसरी नै लाजको समेत बडो मूल्य–मान्यता थियो ऊ बेला । आफ्नो घर–आँगनमा निर्लज्ज हर्कत हुनै दिएनन्, लाज छोप्न शिरसमेत ढाके पुर्खाले । अझै पनि केही नेपाली शिरमा ती भादगाउँले, ढाका टोपी ढल्किएको देखिन्छ यदाकदा । हाम्रो सभ्यता देखेर सिंगो विश्व नतमस्तक थियो । नेपाल र नेपालीको अस्तित्व, अस्मितामाथि प्रहार गर्ने हिम्मत साँच्चै कसैमा थिएन । तर पछिल्लो समय देशको सीमाना खुम्चिएजस्तै हाम्रो स्वाभिमान र सभ्यतामाथि पनि यसरी प्रहार–आक्रमण भइरहेको छ कि ‘..... लाई भन्दा देख्नेलाई लाज !’ आपसमा सहयोग, सद्भाव, मेलमिलाप, मित्रता तथा सभ्यताको वातावरण बनाउनुपर्ने छिमेकीबाटै नाड्डो हस्तक्षेप खुलेआम भइरहँदा पनि चुँ बोल्न नसक्ने हामीलाई कति धिक्कार्दै होला पुर्खाको आत्माले ?
    यता टोपीको देशलाई धोतीले चारैतिरबाट भ्याउँदै गरेको अवस्था छ भने हाम्रा युवाचाहिँ उता अरबको खाडीमा रगत, पसिना बगाउँदैछन् । कोही भारततिरै मजदूरी गर्दैछन् । नेपालमा त अधिकांश महिला, बालबालिका र बूढाखाडामात्रै ! नेपाली युवा श्रमका लागि विदेश पलायन भइरहँदा नेपालमा भने भारतीयहरु आएर अनेक कामकाज गर्दैछन् । धन्दा चलाउँदै ठाउँ–ठाउँमा राज पनि चलाएका छन् । नेपालीको भन्दा ठूलो हैसियत छ नेपालमा कैयौं भारतीय नागरिकको । हामीलाई लाज लाग्ने काम पनि उनीहरु नै गर्छन् । सामान्य मजदूरी तथा घर बनाउने काम होस् या फर्निचरको काम, धान काट्ने–चुट्ने होस् वा खालि बोतल–सिसि–फलाम बटुल्ने या सिरक–डस्ना बनाउने, भाँडावर्तन साट्ने, तन्ना साडी, पेटीकोट लगायत चुरापोते बेच्दै हिँड्ने लगायत माग्ने र जोगीको भेषमा पनि बढी मात्रामा भारतीय पुरुषहरु नै नेपालीको घर–घर चहार्ने गरेको पाइन्छ । उनीहरुले प्रायः धोती लगाएको देखिन्छ । केही दिनअघि गैंडाकोटस्थित एक ड्रिलिङ कम्पनीमा काम गर्न केही भारतीय मजदूर आएका थिए । धोती लगाएका उनीहरुले अश्लीलता पनि देखाइरहेका थिए  माथिमाथि उचाल्दै । अगाडि घर भएका एक युवकलाई त्यो सह्य भएन । तत्काल कम्पनीका मालिकलाई भनेर उनीहरुलाई सभ्यसँग रहन लगाइयो । त्यसपछि उनीहरु पाइन्ट लगाएर बसेको, काम गरेको देखियो । नेपालमा कसैले धोती लगाउनु नै गलत भयो भन्न खोजिएको होइन यहाँ । हाम्रै मधेसी समुदायका कैयौं मानिस छन् धोती लगाउन रुचाउने तर भारतमै पनि सहर बजारतिर वा भनौं सभ्य शिक्षित ठाउँमा धोतीको प्रयोग हराइसकेको छ । 
    हुन त महिलाले लगाउने साडी, लुङ्गी, म्याक्सी आदि पनि धोती जस्तै हुन्छ तर महिलाले अलिकति माथि सारेर पिँडौलामात्र देखाउनु पनि अभद्र, अश्लील लाग्छ भने पुरुषलेचाहिँ धोती लगाएर तिघ्रासम्म फर्काउँदै भित्रको कट्टु नै देखाएर बस्नु, काम गर्नु कहाँको सभ्यता हो ? धोती माथि सारेर खुलेआम अण्डरवेयर देखाउँदै बस्नेले महिलामात्र हुँदा अरु के–के देखाउँदा हुन् मौका छोपेर ? लोग्ने विदेश अनि यौनावेगले जल्दै बसेका छन् हाम्रा थुप्रै चेली । यस्तो अवस्थामा घर–छिमेक तथा समाजमा देखिने अश्लील हर्कतले मन बहलिने र त्यतै लहसिने घटना कति भएका छन्, कुरा गरी साध्यै छैन ।
    पुरुषले टोपी नलगाउनु त सामान्य नै भयो । समय अनुसार दौरा सुरुवालको ठाउँमा सर्टपाइन्ट पनि राम्रै हो । तर घुँडा अनि तिघ्रा देखाउँदै कट्टुमात्र लगाएर हिँड्ने प्रचलन बढ्दैछ । अझ अधवैंशे, बूढाहरु त तौलिया मात्रै बेरेर अण्डरवेयर देखाउँदै, माथिको कपडा पनि नलगाई बसेका देखिन्छन् । महिलाको स्तनमा पुरुषको आशक्ति भएजस्तै पुरुषको स्तनका मुन्टा र रौंहरुमा महिला पनि आकर्षित हुने गरेको अध्ययनलेसमेत देखाएकै कुरा हो । हिजोको ऊ बेला नेपाली समाजमा पुरुषले छातीमात्र होइन शिर नै ढाक्ने संस्कार भएजस्तै ससुरा, जेठाजुको सामुन्ने बुहारीचेलीले घुम्टो ओढ्ने परम्परा थियो । तर आजकल महिलाको पनि पहिरन, चालचलन बिग्रँदै गएको छ हामीकहाँ । उनीहरु पनि मौका छोपेर लुंगी, साडी माथि उचाल्दै देखाउँछन् । विनाब्लाउज लुंगी र पेटीकोटमात्रै बेरेर गाउँ–टोल चहार्ने प्रवृत्ति पनि ठाउँठाउँमा सबैले देखेकै हौला ! अझ तरुनीको त के कुरा नाइटो, तिघ्रा, नितम्ब, स्तन जतिसक्दो देखाएर हिँड्ने प्रवृत्ति बढ्दैछ । पहिरनभन्दा पनि पहिर्‍याई गतिलो भएन अझ । त्यै धोती लगाएपनि गोडासम्म राम्ररी ढाकेर बस्न, हिँड्न नमिल्ने होइन । वक्षस्थल ढाक्न बनाइएको कुर्तासलवारको सल अचेल एउटा काँधमा भिरेर हिँड्छन् महिला ! कुर्तासलवार पनि धेरैले लाउनै छोडे, टाइट पाइन्ट र छोटोस्कर्ट रोजाइ भएको छ तरुणीहरुको । छोटो स्कर्ट लगाएर बाटोमा हिँडेकी कुनै तरुणी वा युवतीको पोटिलो तिघ्रा देख्दा वरपरका पुरुषहरुले आँखा तानीतानी मुख मिठ्याउँदै हेर्ने र जिस्काउनेसमेत गरेको पाइन्छ ।
    पहिरनले पनि व्यक्तिको इज्जतप्रतिष्ठा एवम् सुरक्षामा प्रभाव पारिररहेको हुन्छ भन्ने खै सबैमा हेक्का ? केहीअघि नवलपरासीमै भएको एउटा घटना सुनाउँदै हाल इलाका प्रहरी कार्यालय, गैंडाकोटमा कार्यरत असई गौमती मगरले भनिन्, ‘प्रायः गन्जी र कट्टुमात्र लगाएर बस्ने एउटी केटी बलात्कारको शिकार भइन् । बलात्कारपछि केटाहरुले चक्कु हानीहानी उनको हत्या गरेका थिए ।’ पहिरनले पनि व्यक्तित्व पहिचान हुने हुँदा महिला–पुरुष दुवैले शरीर ढाकेकै राम्रो हुने उनी बताउँछिन् । समाजमा नाङ्गो एवम् अश्लील चालचलन बढ्दै जानुमा विशेषगरी चलचित्र क्षेत्रको ठूलो असर छ । फिल्ममा कलाकारहरु नांगिने संस्कार हावी हुँदा समाजमा त्यसको ठाडो प्रभाव परेको हो । याद राखौं, कलाकर्मीको प्रस्तुतिकरणबाटै समाजको रुप फेरिने हो ! नेपाली टेलिभिजन, एफएमहरुमा नेपालीभन्दा हिन्दी गीत, संगीत र चलचित्रको प्रस्तुति–प्रदर्शनीले नेपाली दिलदिमागमा हिन्दीभाषाप्रतिको मोह बढाउँदै लगेको नबिर्साैं ! त्यसैले चलचित्र, टेलिचलचित्र वा कुनै पनि मिडियामा नग्न, अर्धनग्न वा छाडा सामग्रीलाई स्थान नदिने हो भने भोलिको समाजले त्यस्तै संस्कार अपानाउने ठोकुवा गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस