मुलुकको समृद्धिको लागि दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएको होः अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, २१ फागुन २०७५, १९ : ०३
मुलुकको समृद्धिको लागि दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएको होः अध्यक्ष प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई अलग अलग धारका ठूला कम्युनिष्ट पार्टीहरु एकै ठाँउमा आउने अवस्था मुलुकको समृद्धिको लागि भएको बताउनु भएको छ ।

४६ औं सुखानी सहिद स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झापा विद्रोह र १० बर्षे जनयुद्धलाई जोडेर मुलुक अगाडि बढाउने सपना काम पार्टी एकता भएपछि साकार भएको बताउनुभयो । फागुन १ र २१ लाई जोडने संकल्पको अर्थ भर्खरै मात्रै सार्थक भएको उहाँको भनाई थियो । संविधान निर्माणमा आफनो महत्वपुर्ण योगदान रहेको बताउँदै अध्यक्षले तत्कालिन समयमा प्रमुख प्रतिपक्षी भएपनि सो भुमिका नखेलेको भए दोश्रो संविधानसभा समेत असफल हुने खतरा रहेको खुलासा गर्नुभयो ।

एकताबद्धका हुन नदिनका लागि अनेक षडयन्त्र भएपनि केही दिनभित्र नै तल्लो तहसम्मको एकताले सकारात्मक सन्देश दिने उहाँको भनाई थियो । प्रतिक्रियाबादीहरुले दुई अध्यक्षबीच फाटो ल्याउन षडयन्त्र भएकाले १ बर्षे अवधीमा समिक्षा गरेर अगाडि बढेको भन्दै अध्यक्ष प्रचण्डले कुनै पद र प्रतिष्ठाका लागि नभई मुलुकको हितका लागि समयको माग अनुसार पार्टी एकता भएको बताउनुभयो ।

विस २०२९ साल फागुन २१ गते तत्कालिन समयमा झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा नारायण श्रेष्ठ, कृष्ण कुइकेल, विरेनसिंह राजवंशी, नेत्र घिमिरे र रामनाथ दाहाललाई सुखानी जंगलमा हत्या गरिएको थियो । सहिदहरुको सम्झनामा वामपन्थीहरुले फागुन २१ लाई सुखानी स्मृती दिवसको रुपमा ४६ वर्षदेखि मनाउदै आएको छ । पार्टीका अध्यक्ष प्रधानमन्त्री केपि सर्मा ओली र अध्यक्ष प्रचण्डले सहिदहरुको सालिकमा पुष्पगुच्छाले माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस