विद्यालयभित्र ‘करेन्ट’ र ‘लाली’ चाउचाउको व्यापार

सफल खबर संवाददाता

आइतबार, १९ फागुन २०७५, २० : ३९
विद्यालयभित्र ‘करेन्ट’ र ‘लाली’ चाउचाउको व्यापार

सुमन गैरे
भरतपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय हाताभित्र जङ्क फूडसहरुलाई निषेध गरेको अवस्थामा यशोदा फूड्स प्रालिले बालबालिकालाई चाउचाउ वितरण गर्दै हिँडेको छ ।
रुपन्देहीको मदौलीयामा कारखाना रहेको यसोदा फूड्सले छात्रवृत्तिको लोभ देखाएर ‘करेन्ट’ र ‘लाली’ नामका चाउचाउ विद्यार्थीहरुलाई वितरण गरेको हो । सो उद्योगका कर्मचारीले चितवन र नवलपुरका केही विद्यालय हाताभित्र पसेर चाउचाउ बाँडेर जङ्क फूड्सलाई प्रश्रय दिएका छन् ।
‘हात्तीको देखाउने दाँत एक चपाउने अर्को’ भनेझैँ यशोदा फूड्सले चाउचाउको प्रचार गर्न चाउचाउको वितरण गरेको विद्यालयका एक विद्यार्थीलाई केही रकमसहित छात्रवृत्ति पनि दिएको छ । सो उद्योगका जनसम्पर्क अधिकृत सरस्वती वस्यालको नेतृतवमा आएका कर्मचारीले नारायणगढको बालकुमारी माविमा धेरै कार्टुन चाउचाउ विद्यार्थीलाई लाइन लगाएर वितरण गरे तर छात्रवृत्ति एकजनालाई मात्र दिएका थिए ।

सो समयमा जनसम्पर्क अधिकृत वस्यालले वैकल्पिक खाजाको रुपमा चाउचाउ खान विद्यार्थीलाई आह्वान् समेत गरिन् । स्कुले बालबालिकालाई एक एक पोका चाउचाउ दिएर उनले जङ्क फूडप्रति आकर्षण गराउन खोजेकी थिइन् ।
बालकुमारी माविका शिक्षक अभिभावक संघका अध्यक्ष उद्योगकुमार पियाले खानु हुँदैन भनेर चेतना जगाउनु पर्नेमा वितरण गर्नु राम्रो भएन भने । छात्रवृत्ति दिने निहुँमा चाउचाउको प्रचार गर्न नहुने उनको भनाइ थियो । जङ्क फूडको विज्ञापन गर्न विद्यालय हाताभित्र पस्न कसले स्वीकृति दिएको हो ? भनेर उनले प्रश्न गरेका छन् ।
सो विद्यालयका शिक्षक बाबुहरि आचार्यले विद्यालयमा सरकारले जङ्क फूड निषेध गरेको अवस्थामा छावृत्तिको लोभ देखाएर प्रचार गरिनु दुर्भाग्य भएको बताएका छन् । शिक्षक ऋषिराम खरेलले आचारसंहिता विपरितको काम गरिनु हुँदैन भने । बालकुमारी माविका प्रधानाध्यापक नारायणबहादुर थापाले छात्रवृत्ति वितरण गर्न अनुमति दिएको तर चाउचाउ बाँड्न अनुमति नदिएको बताए ।
भरतपुर महानगर शिक्षा महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले विद्यालय प्रशासनले कुनै पनि जङ्क फूडलाई प्रश्रय दिन हुँदैन भनेका छन् । विद्यालय हाताभित्र प्रवेश गराइएको जङ्क फूडको तत्कालै अनुगमन गरिने पनि उनले जानकारी दिए ।
चाउचाउ, चटपट, कुरकुरे लगायतका जङ्क फूडहरुमा अजिनामोटो राखिएकोले त्यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने र बालबालिका त्यसबाट बढी प्रभावित हुने हुनाले त्यसलाई निषेध गर्नुपर्ने चिकित्सकको सल्लाह छ ।
चटपट, चाउचाउ, बिस्कुटजस्ता जङ्क फुड्सले इन्फेक्सन हुने, कुपोषण बनाउने, सन्तुलित आहारमा कमी ल्याउने र आन्द्रामा समेत समस्या ल्याउने भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस