सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुने

सफल खबर संवाददाता

विहीबार, १६ फागुन २०७५, १२ : ४४
सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुने

चितवन : भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा  सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो २०१९ हुने भएको छ । नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि, संवेदनशिलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउंँदै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो । बुधबार आयोजक संस्था नेपाल औषधि उत्पादक संघले पत्रकार सम्मेलन गरी फागुन १७ गतेदेखि १९ गतेसम्म एक्स्पो हुने जानकारी दिएको हो ।

एक्स्पोका संयोजक जी. नारायण बहादुर क्षेत्रीले एक्स्पोमा नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रिय स्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्य रहेको बताउनु भयो । उहाँका अनुसार एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीका साथै निजी क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहने छ ।

एक्स्पोमा सामाजिक उत्तरदायित्व अन्तर्गत मरणोपरान्त अंगदानको अभियानलाई संस्थागत गरिने क्षेत्रीले बताउनु भयो । अंगदानको अभियानलाई संघले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँंग सहकार्य गरेर काम गर्नेछ । एक्स्पो अवधिमा कम्तीमा १ हजार जनाले अंगदान गर्ने विश्वास लिइएको छ ।

काठमाडौं बाहिर पहिलोपटक चितवनमा हुन गइरहेको एक्स्पो ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको प्लाटिनम स्पोन्सरमा प्यासिफिक कमर्सियल कम्पनी, डाइमण्ड स्पोन्सरमा सन्साई फर्मा, एलम्याक टेक्नोलोजी र गोल्ड स्पोन्सरमा जीएमपी टेक्निकल सोलुसन, एनपीएम मेशिनरी, एजिलेन्ट टेक्नोलोजी र प्रुडेण्ट मेडिटेक रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस