विन्देश्वरीका चेपाङ विद्यार्थी दाताहरुकोे आश गर्दै

सफल खबर संवाददाता

मंगलबार, १४ फागुन २०७५, १८ : ४१
विन्देश्वरीका चेपाङ विद्यार्थी दाताहरुकोे आश गर्दै

चितवन । आर्थिक समस्या कारण रत्ननगर १५ माधवपुरस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा आश्रित चेपाङ बालबालिकाको अध्यापनमा समस्या आएको छ ।

दाताहरुकै सहयोगमा ०६९ सालदेखि कालिका नगरपालिका ११ र १२ नम्बर वडाका १६ जना छात्रा र १४ जना छात्र गरी ३० जना चेपाङ विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । 
गत वैशाखसम्म सपना भिलेज सोसल ईम्प्याक्ट सौराहामार्फत विद्यालयमा चेपाङ विद्यार्थीहरुलाई खाजाको व्यवस्था गरिएको भएपनि अहिले विद्यार्थीहरुका लागि खाजाको व्यवस्था छैन ।

२०४५ सालमा स्थापना भएको विद्यालयले साविक सिद्धी गाविसका विपन्न, आमा बुवा जेलमा परेका र टुहुरा चेपाङ बालबालिकालाई आवसिय सुविधासहित विद्यालयमा अध्यापन गराउँदै अएपनि अहिले आर्थिक अभावले उनीहरुको अध्यापनमा समस्या देखिएको हो ।

सो छात्राबास सञ्चालन गर्न समस्या देखा परेसँगै उनीहरु विदाको बेलामा घर गएर फर्केर आउन नमान्ने गरेको विद्यालयका प्रधानध्यापक भीमप्रसाद खनालले बताउनुभयो । ‘उनीहरुलाई सामान्य खाना दाल, भात र तरकारी बाहेक केही खुवाउन पाईएको छैन, उहाँले भन्नुभयो, ‘विदामा घर गएपछि विद्यालय नफर्की गिठ्ठा, भ्याकुर, खोजेर खादै बसेको पाएका छौं ।’

सिप्रर्दी ट्रेडिङ प्रालिले चेपाङ विद्यार्थीका लागि मासिक रु ८० हजार रुपैयाँ आर्थिक सहयोग गरे पनि त्यो रकमले ३० जनालाई पर्याप्त नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य गकुल पन्तले जानकारी दिनुभयो । 
‘चन्दादाता, जग्गादाता, बजार, सहकारी र विभिन्न संघ संस्थाबाटै छात्राबास चलेको छ, उहाँले भन्नुभयो, ‘कालिका १५ का हङकङ निवासी अकाश बन्जराले १२ थान पङ्खा, न्यानो कपडा, र स्टेश्नरी पनि वितरण गर्दै आईरहनु भएको छ । यसले केही राहत मिलेपनि अन्य सामाग्रीका लागि खर्च जुटाउन गाह्रो अवस्था सिर्जना भएको छ ।’

दाताकै भरमा सञ्चालमा रहेको चेपाङ छात्राबास अध्यापन गर्ने विद्यार्थीहरुलाई अर्को शैक्षिक सत्रबाट साईकल, विद्यालय पोसाक लगायतका सामाग्रीहरुको अभाव हुने भएको छ । 
विद्यालयका अंग्रेजी विषयका शिक्षिका गंगा खनालले चेपाङ विद्यार्थीहरुको पढाई राम्रो रहेको जानकारी दिनुभयो । विद्यालयको शैक्षिक नतिजामा चेपाङ विद्यार्थीले प्रथम स्थान हाँसिल गर्ने गरको उहाँको भनाई छ । खनालले छात्राबासमा आश्रित चेपाङ बालबालिकाले अवसर पाए उदाहरणीय बन्ने बताउनुभयो ।
कक्षा सातमा अध्यनरत कोपिला चेपाङले सिरक, खेलकुद सामाग्री, टेलिभिजन लगायतका मनोरञ्जनका सामाग्रीहरुको आवश्यकता रहेको बताउनुभयो ।
त्यस्तै अर्का कक्षा ८ मा पढ्ने चेपाङ छात्र अविन चेपाङले व्यवस्थित किचन र दिवा खाजाको पनि व्यवस्था नभएको बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस