शान्ति प्रक्रियाका बाँकी काम कछुवा गतीमा चलेको भन्दै प्रचण्डद्वारा असन्तुष्टि व्यक्त

सफल खबर संवाददाता

मंगलबार, १४ फागुन २०७५, १८ : ०४
शान्ति प्रक्रियाका बाँकी काम कछुवा गतीमा चलेको भन्दै प्रचण्डद्वारा असन्तुष्टि व्यक्त

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने काम कछुवा गतीमा चलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार गोरखामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्य निरुपण र मेलमिलाप तथा वेपत्ता छानबिन आयोेगले काम गरेको भए पनि कछुवा गतिमा रहेका बताएका हुन् । अब सत्य पत्ता लगाउने र मेलमिलाप गराउने गरी शान्ति प्रक्रियाका बाँकी सबै काम टुंग्याइने उनले बताए । ‘त्यतिबेला युद्वद्वारा क्षति भएका परिवार, चाहे ती माओवादी हुन्, चाहे कांग्रेस हुन्, चाहे पुलिस सेना हुन्, चाहे अरु पार्टीका हुन्, सबैलाई परिपूरण दिने र पीडितहरुलाई मलम पट्टी लगाएर मेलमिलाप कायम गर्ने आयोगको काम हो,’ उनले भने ।

मानवीय अपराधका केही प्रतिनिधिमूलक घटनामा भने दोषीलाई कारबाही पनि गरिने उनले बताए । ‘साह्रै ठूला मानवीय अपराध भएका छन् भने केही प्रतिनिधिमूलक घटनाहरुलाई कारबाही पनि गर्ने गरेर सामाजिक मेलमिलाप कायम गर्नेतिर हामी अगाडि बढेका छौं’ उनले भने, ‘म शहीद, वेपत्ता र युद्धद्वारा पीडित परिवार सबैलाई म भन्न चाहन्छु, छिट्टै यो काम टुंगिँदैछ ।’

फरक प्रशंगमा बोल्दै प्रचण्डले जनताले दुई तिहाईको सरकार गठन गर्दा पनि अनुभूत हुनेगरी काम हुन नसकेको बताए । उनले चुनावमा गरेका बाचा पूरा नहुँदा जनताले दिने प्रतिक्रिया नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र आफूलाई पनि ज्ञात भएको बताए । 
'यो बीचमा केही राम्रा काम शुरु भएका छन । तर दुई तिहाईको सरकार भएका बेला नेपाली जुन गतीको साथ विकास होला निर्माण होला फटाफट काम होला भ्रष्टहरूमाथि कारबाही होला सुशासन होला लागेको थियो त्यो हुन सकेको छैन', प्रचण्डले भने, 'वृद्धभत्ता पाँच हजार पुर्‍याउँछौ भनेका थियौ त्यो हुन सकेन । अब बन्ने बजेटमा त्यो पूरा गर्ने प्रधानमन्त्री र मबीच कुरा चलिराखेको छ।' प्रचण्डले केही राम्रा काम भए पनि जनताले अनुभूत गर्नेगरी काम हुन नसकेको कुरा प्रधानमन्त्रीले पनि बुझेको बताए । पूर्वाधार निर्माण, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य, रोजगारका काम जनताले आफ्नो सरकार आयो भन्ने सोच्ने, भोग्ने र अनुभूत गर्नेगरी अबको बजेटमा व्यवस्था गर्न प्रधानमन्त्री र आफूबीच कुरा चलिराखेको प्रचण्डले बताए । प्रचण्डले अहिले दुवैजनाबीच नयाँ बजेटको बारेमा छलफल भइरहेको पनि जानकारी दिए ।

उनले चुनावमा गरेका बाचा पूरा गर्ने हिसाबले नयाँ बजेटको तयारी भइरहेको बताए ।'अब बनाउने बजेटमा हामीले यो पटक नसकेका कुरा जनताले देख्ने, बुझ्नेगरी व्यवस्था गर्ने छलफल भइरहेको छ, ' प्रचण्डले भने । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको प्रसंसा गरेका थिए । उनले भने, 'अब हाम्रो सरकार आयो भनेर जनताले बुझ्ने गरी बजेट बनाउने तयारी भइरहेको छ ।' उनले अबको बजेटमा बृद्धभत्ता पाँच हजार पुर्‍याउने बताए । प्रचण्डले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको पनि बताए ।
 

प्रतिक्रिया दिनुहोस