भावुक बन्दै नेमारले भने, ‘मैले मेस्सी र बार्सिलोना नसम्झेको कुनै दिन छैन’

एजेन्सी

मंगलबार, १४ फागुन २०७५, ०९ : ५३
भावुक बन्दै नेमारले भने, ‘मैले मेस्सी र बार्सिलोना नसम्झेको कुनै दिन छैन’

एजेन्सी । ब्राजिलका कप्तान एवं पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार नेमार अहिले चोटमा कारण मैदानबाहिर छन् । एक महिनाअघि खुट्टाको चोट बोकेका उनी उपचारपछि आराम गरिरहेका छन् ।

चिकित्सकमा अनुसार नेमार अझै डेढ महिना मैदान बाहिर रहनेछन् । मैदान बाहिर रहे पनि उनको विषयमा समाचार आइरहेको छ । फुर्सदमा रहेका नेमारलाई मिडियाले पछ्याउनु स्वभाविक हो । नेमारले हालै मात्र ‘स्पोर्टे स्पेक्टाकुलर’सँगको विशेष अन्तर्वार्तामा बार्सिलोना र कप्तान लियोनल मेस्सीको बारेमा मुक्तकण्ठले प्रशंसा गरे । उनले आफू बार्सिलोनामा हुँदा मेस्सी सधै अभिभावक बनेको बताए ।

‘मैले मेस्सी र बार्सिलोना नसम्झेको कुनै दिन छैन । मलाई जतिबेला साथ र सहयोग चाहिएको थियो । जुन सहयोग मैले विश्वकै उत्कृष्ट खेलाडी मेस्सीबाट पाएँ । म पहिलो पटक बार्सिलोना पुग्दा पहिलो म्यासेज मलाई मेस्सीले नै गरेका थिए । मेस्सीको अरुलाई सहयोग र सहानुभूती दिने क्षमता बेजोडको छ,’ नेमारले भने ।

नेमारले आफ्नो करियरको सुन्दर समय बार्सिलोनामा बिताएकाले क्लब र पूर्वसहकर्मीलाई सधै मिस गरेको बताए । नेमार बार्सिलोनामा हुँदा उनी र मेस्सीबीच दाजुभाइको जस्तै घनिष्ट सम्बन्ध थियो । नेमार मेस्सीलाई दाइ र मेस्सी नेमारलाइ भाइ भनेर सम्बोधन गर्थे ।

सन् २०१३ देखि २०१७ सम्म बार्सिलोनामा रहेका नेमार १८ महिनाअघि कीर्तिमानी दुई सय २२ मिलियन युरोमा पीएसजी गएका थिए । पीएसजीमा उनी त्यति रम्न नसकेको खबर बारम्बार बाहिर आएको थियो ।

यही क्रममा पत्रकारले केही समयअघि मेस्सीले ‘नेमार बार्सिलोना फर्किएको हेर्न चाहेको’ भनेर बोलेको विषयमा नेमारलाई सोधेका थिए । तर, नेमारले त्यो कठिन भएको बताएका थिए । चोटका कारण निराश देखिएका नेमारले आफू केही दिन रोएरै बिताएको पनि बताए ।

‘जब म चोटग्रस्त भएँ । दुई दिन घरमा एक्लै रोएर बिताएँ । अहिले म साच्चै निरास छु । विस्तारै आफूलाई सम्हाल्ने कोशिष गरिरहेको छु, उनले भने– ‘निको हुन कति समय लाग्छ थाहा छैन । तर, म चाडो ठीक भएर मैदान फर्किन आतुर छु ।’

प्रतिक्रिया दिनुहोस