कांग्रेसमा फेरि गुट बलियो बनाउने होड

पत्रपत्रिकाबाट

मंगलबार, १४ फागुन २०७५, ०८ : ५२
कांग्रेसमा फेरि गुट बलियो बनाउने होड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षा खातिर फेरि विभाजित बन्न पुगेका छन् । 

पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए । 

पार्टी नेतृत्व सम्हालेको तीन वर्ष बित्न लाग्दा पनि केन्द्रीय विभागसहितका विभिन्न समिति गठन गर्न नसकेको आरोप खेप्दै आएका सभापति देउवा बाँकी समय बहुमतको आधारमा पार्टी चलाउने तयारीमा देखिएका छन् । 

संगठन सुदृढ गर्न नसकेको आरोप पार्टी्भित्रकै असन्तुष्ट पक्षबाट खेपिरहेका देउवा विधानको बलमा बहुमतबाट सबै विभाग र समिति गठन गरी अघि बढ्ने तयारीमा पुगेको उनी निकटका नेताहरु बताउँछन् । प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन आयोजक समिति गठन गर्ने अधिकार सभापति देउवालाई केन्द्रीय समितिले दिइसकेको छ । पार्टीका विभाग र अन्य समिति गठनमा पनि बहुमतकै आधारमा निर्णय लिँदै जाने सभापति देउवाको तयारी छ । यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस