डीपीएल : सिवाईसी अत्तरियालाई उपाधि

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, १७ : ५९
डीपीएल : सिवाईसी अत्तरियालाई उपाधि

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि सिवाईसी अत्तरियाले जितेको छ ।

शनिबार फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले पहिलो पटक उपाधि हात पारेको हो । महेन्द्रनगर युनाइटेडले दिएको १ सय २४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । उपाधिसंगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

अत्तरियाको जितमा सन्नी पटेलले अविजित रहदै सर्वाधिक ४७ रन जोडे । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै अत्तरियालाई च्याम्पियन बनाए । यस्तै जय किशन कोल्शावालाले ३० रन र कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । महेन्द्रनगरका मोहमद नाभिद र सागर ढकालले समान २/२ विकेट लिए भने अविनाश बोहरा र शाहब आलमले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभरमा अलआउट हुँदै १ सय २३ रन बनाएको थियो । उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो । महेन्द्रनगरका लागि दिलिप नाथले ४३ तथा कुशल मल्लले २५ रन, रोहित कुमार पौडेलले २४, आरिफ शेख ११ तथा मोहमद नाभिद १० रनमा आउट भए । खराब सुरुवात गरेको महेन्द्रनगरले मात्र १४ रन जोड्दा २ विकेट गुमाउँदा दिलिप र कुशलले इनिङस सम्हालेका थिए । अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २/२ विकेट लिए भने सन्नी पटेलले १ विकेट लिए ।

महेन्द्रनगरका पाँच खेलाडी रन आउट भए । यसअघि महेन्द्रनगर युनाइटेड दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको थियो । अत्तरियाले पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै हराएर फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस