Safal Khabar - खेलाडीहरु रोजीरोटीको लागि विदेश भासिन बाध्य छन्
शनिबार, ११ जेठ २०७६ (Saturday, 25 May, 2019)
खेलाडीहरु रोजीरोटीको लागि विदेश भासिन बाध्य छन्
बिहिबार, ०९ फागुन २०७५, १७ : २५
खेलाडीहरु रोजीरोटीको लागि विदेश भासिन बाध्य छन्

चितवन । चितवन भरतपुर–१२ का उत्तम गुरुङ खेल क्षेत्रमै २५ वर्ष बिताए । आज पनि गुरुङ चितवनको खेल क्षेत्रलाई अगाडि बढाउन दिनरात खटिएका छन् । 
मार्सल आर्ट विधाको सितोरियो कराँते तथा किङ बङसिङका राष्ट्रिय स्तरका खेलाडी गुरुङ २०४९ सालबाट नै खेल क्षेत्रमा निरन्तर लागिरहेका छन् । अहिले उनी चितवनमा सितोरियो कराँते तथा किङ बङसिङको प्रशिक्षकको काम गरिरहेका छन् । उनी मार्सल आर्टकै एक विधा मुवाथाइको प्रशिक्षकसमेत हुन् ।
उनले आफ्नो खेल जीवनमा जापान, थाइल्याण्ड, कम्बोडिया, स्वीजरल्याण्डलगायत देशमा पुगेर उत्कृष्ट प्रदर्शन गरेका थिए । यसबाहेक नेपालमा भएका विभिन्न क्षेत्र तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा उनी सहभागी भएका थिए । उनी चितवन जिल्ला खेलकुद विकास समितिको पूर्वअध्यक्ष समेत हुन् ।   
 
उनै खेलाडी गुरुङसँग समग्र देशको खेल क्षेत्रको अवस्थाबारे सफल खबर डटकमले गरेको कुराकानी :

भनिन्छ, खेल त खेलाडीको हातमा हुन्छ, यसबाहेक अरु खेलाडीको हातमा केके पर्छ ?
हो, तपाइँले भनेजस्तै खेल त खेलाडीको हातमा हुन्छ । जित हार उसैमा भर पर्छ । तपाइँले सोध्नुभएको कुरा आर्थिक पाटो हो जस्तो मलाई लाग्यो, खेलाडीको हातमा खेलमात्रै हो, अरु केही हुँदैन । मेरै हकमा भन्नुहुन्छ भने मैले केही पाएको छैन । 
म २५ वर्ष खेल क्षेत्रमा बिताएँ, मेरा हातमा खेलबाहेक अरु केही आजसम्म परेको छैन । हातमा परेको भनेको दुईचार वटा मेडलहरु, प्रमाणपत्रहरु यति नै हो । मेरो जस्तो हालत छ, अरु खेलाडीको पनि यही अवस्था हो । 
हाम्रो सरकारले खेल क्षेत्रलाई नजिकको आँखाले हेरेकै छैन । खेलाडीहरुलाई नजिकबाट नियालेकै छैन । जसले गर्दा खेलाडीको अवस्था अहिले पनि नाजुक छ । अहिले पनि राष्ट्रियस्तरको खेलाडीलाई आफ्नो परिवार होइन, आफूसमेन पालिन सकेका छैनन् । कुनै खेलाडी अर्को पेसा नगरी बाँच्न सकिरहेका छैनन् । अनि अर्को पेसा गर्दा खेल क्षेत्रबाट खेलाडीहरु पलायन भएका छन् । रोजीरोटीकै लागि कति खेलाडी विदेश भासिएका छन् । 

युवा तथा खेलकुद मन्त्रालय छ, राष्ट्रिय खेलकुद परिषद छ, जिल्लामा जिल्ला खेलकुद विकास समिति छ, यिनीहरुको पनि केही गरेका छैनन् ?
हो, मन्त्रालय पनि छ, परिषद् पनि छ, अनि खेलकुद विकास समिति पनि छ, म जिल्ला खेलकुदको अध्यक्षसमेत भएँ । खेलका संघसंस्थाहरु मात्र भएर केही हुने वाला छैन । उनीहरुका गतिविधि हुनुपर्छ । खेलाडीहरु जन्मनुपर्छ, जन्माइनुपर्छ । यसको लागि लगानी आवश्यक पर्छ । 
राज्यको खेल क्षेत्रमा लगानी नै छैन । राज्यले जम्मा दुई वटा खेल गरेको छ । एउटा राष्ट्रपति रनिङ शिल्ड र अर्को अहिले छनौट प्रक्रिया भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिता । 
राज्यले राष्ट्रिय स्तरको खेल दुई वटा गरेर यो देशको खेल क्षेत्रको कसरी विकास हुन्छ ? नेपालको खेलकुदमा वार्षिक कति बजेट छ, जम्मा बजेटको ०.०१५ प्रतिशत खेलकुदमा बजेट छुट्टाइएको छ, जब कि ब्राजिलमा जम्मा बजेटको ३० प्रतिशत खेलकुदमा छुट्टाइएको हुन्छ । यस्तो अवस्थामा छ हाम्रो देश, अनि कसरी खेलकुदको विकास हुने, अनि हाम्रा खेलाडीको कसरी प्रगति हुने ?

खेल क्षेत्रमा राजनीतिक हस्तक्षेप, नातावाद, कृपावाद कति हुन्छ ?
खेल क्षेत्रमा राजनीतिक हस्तक्षेप बढी नै भइरहेको छ । नातावाद र कृपावाद पनि छ । राम्रा खेलाडीहरुले अवसर नपाएका घटनाहरु थुप्रै छन् । राज्यले विदेश पठाएको खेलाडी हारेर आउने निजी खर्चमा गएका खेलाडीहरु जितेर आउने उदाहरण सबैको सामु यसअघि छर्लङ्ग भएका पनि हुन् । 
खेलाडी छनौट गर्ने काममा पनि राजनीतिक हुन्छ, मलाई लाग्छ, राजनीतिक हस्तक्षेपले ५० प्रतिशत राम्रा खेलाडी अवसरबाट वञ्चित भएका छन् । यस्तो अवस्था आएपछि राम्रा खेलाडीहरु फ्रस्टेसन अवस्थामा पुगेर खेल क्षेत्रबाट पलायन भइरहेका पनि छन् । देशको खेल क्षेत्रमा सुधार अझै हुन सकेको छैन, आमुल परिवर्तन गर्न जरुरी छ । 

यस्तो अवस्थामा के देखेर खेल क्षेत्रमा आउने नयाँ पुस्ता ?
यो त सरकारले सोच्नु पर्ने कुरा हो । यस्ता अवस्थामा खेल क्षेत्रमा नयाँ पुस्ता किन आउने, यही कुरा अहिले गम्भीर विषय हो । अवस्था दयनीय नै देख्छु म त । पहिलो कुरा त यस क्षेत्रमा लागेर गास बास पुग्ने अवस्था छैन, अर्को कुरा राम्रा खेलाडीहरुले अवसर पाउँदैनन् । अनि नयाँ पुस्ता यो क्षेत्रमा किन आउने ? मैले पनि राज्यलाई यही सोधिरहेका छु । अब यो अवस्थाले खेल क्षेत्रको विकास हुँदैन । अब राज्यले ध्यान दिनुपर्छ । धेरै राम्रा खेलाडीहरु पलायन भएका छन् । अझै पनि कति घाइते हुने खेलाडीहरुले उपचार खर्च पाएका छैनन् । खेलाडी घाइते भए भने पहुँचवालाले मात्र उपचार पाउँछ, पहुँच नहुनेले आफ्नै खर्चमा उपचार गर्नुपर्छ । 

सरकारले खेल क्षेत्रमा केके गर्नुपर्छ ? 
धेरै गर्न बाँकी छ । अन्य हामीजस्ता साना देशहरु खेल क्षेत्रमा अगाडि बढेका छन् । पहिला त सरकारले खेलुकुदमा लगानी गर्नुपर्छ । अहिलेजस्तो चिम्टी बजेटले खेलकुद अगाडि बढ्न सक्दैन । भौतिक पूर्वाधारहरु बनाउनुपर्छ । चितवनमै हेरौँ, अहिले एउटा कभर्ड हलबाहेक अरु यहाँ केही छैन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भनिएको छ । 
सरकारले खेलकुद विश्वविद्यालय बनाउनुपर्छ । भारतमा ५५ वर्षअघि नै खेलकुद विश्वविद्यालय निर्माण गरिएको छ, तर हाम्रो देशमा आजसम्म खेलकुद विश्वविद्यालय छैन । खेल क्षेत्रलाई राज्यले अगाडि लान खोजेको केही देखिदैन । यहाँभन्दा अगाडि अस्थिर सरकार थियो, अब स्थिर सरकार छ, तर पनि त्यस्तो उल्लेख्य सुधारको संकेत देखिएको छैन । आठौँ साफमा नेपालले धेरै पदक जितेको थियो, नवौँ साफमा एकदुई वटा पदकमा नेपाल खुम्चनु परेको थियो । 
राज्यले लगानी बढाउनुपर्छ, देशभर नै खेल क्षेत्रका भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्छ । राज्यले गाउँगाउँमा खेलकुदका प्रतियोगिताहरु गरिनुपर्छ । अहिले क्लबहरुले गरिरहेका छन् । स्कुल लेभलदेखि नै खेलाडीहरु छनौट गरेर उसको खाने, बस्ने, पढ्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी राज्यले प्रशिक्षण दिनुपर्छ । यसो गर्न सके खेलकुदको विकास हुन्छ, नत्र यही अवस्था कायम रहे खेल र खेलाडीको भविष्य त्यति राम्रो देखिदैन । 
 

प्रतिक्रिया दिनुहोस