बङ्लादेशका २० हजार  अश्लील वेबसाइट बन्द

एजेन्सी

बुधबार, ०८ फागुन २०७५, १२ : २२
बङ्लादेशका २० हजार  अश्लील वेबसाइट बन्द

ढाका । बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । 

मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । 

“मैले बङ्लादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,” बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भन्नुभयो । 

अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको बताउँदै उहाँले यसलाई निरन्तरता दिने जानकारी पनि दिनुभयो । बङ्लादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका छन् । 

दक्षिण एशियाली यो देशमा दुरूपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिनुभयो । 

अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उहाँले जानकारी दिनुभयो । बङ्लादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले यस्तो अभियान थालेका हुन् । 

बङ्लादेशमा अश्लील वेबसाइटहरू नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । देशमा अहिले झण्डै आधा जनता इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ ।  (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस