सरकार थर्ड डिभिजनमा पनि पास हुन सकेन:कांग्रेस

पत्रपत्रिकाबाट

सोमबार, ०६ फागुन २०७५, ०७ : २७
सरकार थर्ड डिभिजनमा पनि पास हुन सकेन:कांग्रेस

प्रमुख प्रतिपक्षी कांग्रेसले दुईतिहाइको कम्युनिस्ट सरकारको एकवर्षे कार्यकालमा शून्य सुशासन देखिएको निष्कर्ष निकालेको छ । कांग्रेसले सरकार ‘तृतीय श्रेणीमा पनि पास हुन नसकेको’ दाबी गरेको छ । सहज राजनीतिक वातावरण र दुईतिहाइको गणितका बाबजुद सरकारले ३ सय ६५ सुनौला दिनलाई खेर फालेको कांग्रेसको निष्कर्ष छ ।

पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलनमार्फत सरकारको समीक्षा सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमा सरकारले ‘बालुवाको जग हालेको’ टिप्पणी गरे । ‘एक वर्षमा जग हालिएको र अहिल्यै छाना नखोज्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ,’ शर्माले भने, ‘उहाँले बिल्कुलै सही आग्रह गर्नुभएको छ । जग नै बालुवाको हालेपछि छाना खोजिरहनै परेन ।’ नाराले मात्रै सरकारको विश्वास नबच्ने उनले बताए ।

मुख्यतः सरकारले पाँच मुद्दामा विश्वास गुमाएको कांग्रेसको ठहर छ । ‘संविधान संशोधन गर्ने सहमति र विश्वास दिलाएर मधेसकेन्द्रित दललाई सरकारमा ल्याए पनि एक वर्षसम्म प्रक्रिया अघि बढाइएको छैन,’ प्रवक्ता शर्माले भने । साउनमा प्रधानमन्त्रीकै अग्रसरतामा डा. गोविन्द केसीसँग गरेको सम्झौता माघमा प्रधानमन्त्रीकै अग्रसरतामा तोडिनुले पनि सरकारको विश्वसनीयता गुमेको उनले बताए । त्यस्तै, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीलाई कठघरामा नल्याएको, आफ्नै लगानीमा निर्माण गर्ने भनिएको बुढीगण्डकी परियोजना आकस्मिक रूपमा विदेशी कम्पनीलाई सुम्पेको आरोप पनि कांग्रेसले लगाएको छ ।

यसलाई कांग्रेसले बितेको वर्ष सरकारबाट सम्पादित सबैभन्दा ठूलो विश्वासघात र गम्भीर राष्ट्रघातको संज्ञासमेत दिएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष निर्माणको ऐन संसद्बाट २९ साउन ०७४ मा पास भई मंसिरदेखि लागू भएकाले त्यो कांग्रेस सरकारको काम भएको दाबी शर्माले गरे । यसलाई आफ्नो काम भनेर सरकारले दाबी गर्नु भ्रम छर्नु मात्रै भएको उनले बताए । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस