भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले करिब ५ वर्ष उमेर पुगेका २४ घडियाल गोहीलाई राप्ती नदीमा छाडेको छ । निकुञ्जस्थित गोही प्रजनन केन्द्रमा रहेका घडियालहरुलाई ५ वर्ष उमेर पुगेपछि नारायणी, राप्ती तथा बबई नदीमा छाड्ने गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच गोहीहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले संयुक्त रुपमा छाड्नु भएको हो ।
गोही संरक्षणका लागि विस २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा संकलन गरि वार्षिक २०० बच्चा उत्पाद गर्ने गरेको छ । जसमध्ये १५० गोहीलाई बचाउँन सकिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिनुभयो ।
“नदीमा लाइभ इको सिस्टम कायम गर्न घडियाल गोही संरक्षण गर्नुपर्छ, उहाँले भन्नुभयो,“ गोहीलाई लोप हुन नदिन नदिमा माछाको आहार लेउ पलाउन दिनुपर्छ । नदिजन्य पदार्थको उत्खननमा प्रतिबन्ध लगाएर नदीलाई सफा राखे गोहीलाई बचाउन सकिन्छ ।”
निकुञ्जले छाडिएका २४ घडियाहरूलाई नियमित अनुगमन र रेखदेख जिपिएस प्रणालीबाट गर्नेछ ।
भरतपुर महानगरपालिका का प्रमुख रेनु दाहालले घडियालको संरक्षण अपरिहार्य भएको भन्दै सरोकारवाला निकायहरूसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । घडियाल सफा र स्वच्च पानीमा मात्र बाँच्न सक्ने भएकाले यसको संरक्षणमा सक्रियतापूर्वक लाग्न नगरबासीलाइ आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष नारायण पौडेलले निकुञ्ज र यसको वरिपरि बसोबास गर्ने नागरिकका बीचको द्धन्छ न्यूनिकरण गर्दै संरक्षणमा सहभागि हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले गोहीको संरक्षण चुनौतीपूर्ण र अपरिहार्य भएको भन्दै नदीमा आश्रित जीवीकोेपार्जन गरिरहेका समुदायलाई वैकल्पिक व्यावस्था गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस