रोटरीले ह्विल चेयर र खेलकूदका सामग्रीहरू वितरण गर्‍यो

विहीबार, ०२ फागुन २०७५, १८ : १४
रोटरीले ह्विल चेयर र खेलकूदका सामग्रीहरू वितरण गर्‍यो

चितवन । नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रमको आयोजना गरी भरतपुर–२६ ज्योतिनगरमा रहेको दिवा स्याहार केन्द्रमा आश्रित मानसिक तथा शारिरीक रूपमा अपाङ्गता भएका बालबालिकाहरूका लागि एक थान ह्विल चेयर र खेलकूदका सामग्रीहरू वितरण गरेको छ । उक्त संस्थाकी सञ्चालिका हरिकला भूषाललाई क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान र अध्यक्ष रमेश पौडेलले उक्त सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । 
गत मंसिरबाट सञ्चालनमा आएको उक्त स्याहार केन्द्रमा हाल सातजना बालबालिकाहरू रहेको र कुनै पनि वाह्य सहयोगहरू प्राप्त नभएको अवस्थामा पहिलो पटक नारायणगढ रोटरी क्लबले सहयोग प्रदान गरेको सञ्चालिका हरिकला भूषालले बताए । स्वार्थभन्दा माथि सेवाको भावनाले अघि बढेको नारायणगढ रोटरी क्लबले विगतमा पनि विभिन्न स्थानहरूमा गएर ह्विल चेयरहरू वितरण गरेको जानकारी अध्यक्ष रमेश पौडेलले गराउँदै यस संस्थामा आश्रित बालबालिकाहरूलाई आवश्यक सामग्रीहरू वितरण गर्न पाएकोमा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । त्यसै गरी संस्थापक अध्यक्ष निरञ्जन प्रधानले सामाजिक क्षेत्रमा नारायणगढ रोटरीले सम्पन्न गरेका क्रियाकलापहरूको चर्चा गर्नुहुँदै उक्त संस्थालाई आत्मनिर्भर बनाउन सक्दो प्रयास गर्ने बताउनुभयो । 

क्लबका पूर्व अध्यक्ष सञ्जय श्रेष्ठले दिवा स्याहार केन्द्रका बालबालिकाहरूको लागि आवश्यक एक थान प्लाष्टिकको टेवल र छ थान कुर्चिहरू निःशुल्क उपलब्ध गरेको कार्यक्रम सञ्चालक इन्द्रप्रसाद रेग्मीले बताए । क्लबका पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठको समन्वयमा भएको उक्त कार्यक्रममा जोन २४ का एसिस्टेन्ट गभर्नर तथा क्लबका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, पूर्व अध्यक्ष रोहितकुमार श्रेष्ठ, नि. अध्यक्ष नारायण प्रधान, सदस्य राजाराम सिटौला लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस