‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने

बुधबार, ०१ फागुन २०७५, २० : ०६
‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने

फाईल तस्विर

शरद शर्मा

काठमाडौँ । दश वर्षे सशस्त्र द्वन्द्वलाई समेटेर ‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने भएको छ । सांस्कृतिक सङ्ग्रहालय नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र द्वन्द्वमा भएका गतिविधि समेटेर सङ्ग्रहालय स्थापना गरिने भएको हो । माओवादी द्वन्द्वसम्बन्धी अध्ययन र अनुसन्धान गर्न तथा त्यसको शुभारम्भदेखि नेपाल सरकारसँग शान्ति सम्झौतासम्मका घटनाक्रमका ऐतिहासिक तस्बीर, दस्तावेज तथा जानकारी समेटेर सङ्ग्रहालय स्थापना गर्न थालिएको सङ्ग्रहालयका संयोजक क्षितिज अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्ग्रहालयको संरक्षक रहनुभएको छ । संयोजक श्रेष्ठले सो सशस्त्र द्वन्द्व मुलुकको ऐतिहासिक घटनाक्रम भएकोले पछिल्लो पुस्तालाई जानकारी गराउनका लागि समेत सङ्ग्रहालय आवश्यक भएको बताउनुभयो ।

उहाँले विश्वमा पनि भएका यस्ता द्वन्द्वको सङ्ग्रहालय बनेका इतिहास रहेकाले यहाँ पनि बनाउन थालिएको जानकारी गराउनुभयो । “यहाँको जनयुद्धको अवतरण विश्वलाई नै चकित पार्ने खालको छ”, उहाँले भन्नुभयो, “विदेशीलाई पनि यसबारे अध्ययन अनुसन्धानमा सघाउ पु¥याउन सङ्ग्रहालयको स्थापना गर्न थालिएको हो ।” सङ्ग्रहालय रोल्पा वा चितवनमा बन्नेछ ।

“सङ्ग्रहालय रोल्पा वा चितवनमा बनाउने कुरा भइरहेको छ”, उहाँले भन्नुभयो, “जहाँको स्थानीय तहले जग्गा उपलब्ध गराउँछन् । त्यही बनाउने हो ।” सङ्ग्रहालयका लागि पाँच हजार ५०० किसिमका तस्बीर र २५० थान श्रव्य र श्रव्यदृश्य सङ्कलन भैसकेको छ । सङ्ग्रहालयका लागि सङ्कलन गरिएका तस्बीर राज्य र तत्कालीन नेकपा (माओवादी)का हत्या, हिंसासम्बन्धी गतिविधि नभएका हुनेछन् । यस्तै सङ्ग्रहालयमा १६ थान सैनिक पोशाकसमेत सङ्कलन गरिएको छ । करीब रु सात करोडमा निर्माण गर्न थालिएको सङ्ग्रहालय आगामी वर्ष सञ्चालन गर्ने तयारी गरिएको सङ्ग्रहालयका सचिव आस्था केसीले जानकारी दिनुभयो ।

सङ्ग्रहालय स्थापना गर्ने अभियानमा प्रत्येक वर्ष फागुन १ गते तस्बीर प्रदर्शनी गर्दै आइरहेको छ । सङ्ग्रहालय स्थापनार्थ माओवादी सशस्त्र द्वन्दको विशेष सम्झनामा ‘माओवादी जनयुद्ध’ को दुई दशक’ (ऐतिहासिक फोटो प्रदर्शनी) आयोजना गरिसकेको छ ।

उहाँले नेपालको राजनीतिका प्रमुख घटनाक्रमका इतिहासको खोजबिन गर्नु र यसका विशिष्ट व्यक्तिका तस्बीर र दस्तावेज पाउन अति नै गाह्रो रहेपनि त्यसको इतिहासबारे भावी पुस्तालाई जानकारी दिन सङ्ग्रहालय स्थापना गर्न लागेको हो भन्नुभयो । सङ्ग्रहालय स्थापनामा सहयोग गर्नका लागि द्वन्द्वताका भएका तस्बीर र जानकारीसमेत उपलब्ध गराउन आग्रह गरिएको छ । यसैगरी आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा जनसांस्कृतिक महासङ्घले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा समेत सोसँग सम्बन्धित फोटो प्रदर्शनी गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस