बलात्कारको अभियोगमा वडाध्यक्ष कुमाल कारागार चलान

मंगलबार, २९ माघ २०७५, १० : ५२
बलात्कारको अभियोगमा वडाध्यक्ष कुमाल कारागार चलान

दमौली l बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।

कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिनुभयो । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस