सहयोगको आवरणमा विदेशी नगरिकद्वारा बालकहरुमाथि यौन शोषण

आइतबार, २७ माघ २०७५, १७ : ४९
सहयोगको आवरणमा विदेशी नगरिकद्वारा बालकहरुमाथि यौन शोषण

काठमाडौं । बाल यौन दुराचारको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २७ महिनाको अवधिमा ११ जनालाई पक्राउ गरेको छ ।
सिआइबीले माघ ५ गते बिहान ३ बजे रविभवनस्थित एक घरबाट ३ जना नेपाली नाबालकसहित ४ जना नेपाली, एकजना भारतीय र एक जना विदेशी नागरिकलाई पक्राउ गर्यो । त्यस्तै २४ भदौ, २०७३ मा सिआइबी टोलीले केन्नेथलाई अन्य ४ जना नाबालकसहित पक्राउ गर्छ । नेपाली नाबालकमाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले केन्नेथलाई पक्राउ गर्छ । पक्राउ पर्दा केन्नेथ नेपाली नाबालकसहित नग्न अवस्थामा पक्राउ परेका थिए ।
बाल यौन दुराचारकै अभियोगमा पक्राउ परेका किलिन्के बिगत २५ वर्षदेखि नेपालमा लगातार आइरहेका थिए । तर विगत १५ वर्षदेखि भने किलिन्के पटक–पटक नेपालमा आउने र २–३ महिना नेपालमै बस्नेसमेत गरिरहेका थिए । अल्बर्टले सडक बालक तथा अन्य बालकलाई खानेकुरा तथा पैसा र खेलौनाको लोभ देखाउँथे अनि उनीहरुलाई आफ्नो कोठामा ल्याउँथे । त्यसपछि उनीहरुसँग यौन दुराचार गर्ने गरेका थिए । सिआइबी टोलीले उनलाई होटलबाट पक्राउ गर्दा अर्धनग्न अवस्थामै पक्राउ गरेको थियो र त्यतिबेला एक १४ वर्षीय बालकलाई समेत उद्धार गरेको थियो ।
अष्ट्रियाका ४५ वर्षीय मर्कस केन्डलर २०७४ भदौ २२ गते ठमेलस्थित एक होटलबाट पक्राउ परे । बान यौन दुराचारको अभियोगको प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सिआइबी)को टोलीले उनलाई पक्राउ गरेको थियो । ३ बालकलाई बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गर्न जाँदा उनी अर्का एक बालकलाई यौन दुराचार गरिरहेकै अवस्थामा पक्राउ परे ।  मर्कस् केन्डलर पनि बाल यौन दुराचारकै लागि पटक–पटक नेपाल आएका थिए ।
उनले धादिङको गोगनपानीमा आफूलाई समाजसेवीका रुपमा प्रस्तुत गरेका थिए । स्थानीय बासिन्दा, विद्यालय तथा गरीब परिवारका बालकहरुलाई अध्ययन सामग्री, खेलकुद सामग्री आदि दिन्थे उनी । त्यसबाहेक गाउँलाई नै सम्पन्न बनाउन लागि पर्ने सपना पनि बाँडेका थिए उनले । गोगनपानीका बासिन्दाहरु पनि विदेशीले सहयोग गर्ने भयो भनेर मख्ख थिए । उनी गोगनपानीकै गाउँमा पनि एउटा कोठा भाडामा लिएर एक नाबालकसँगै बस्थे । पछि काठमाडौंमा पनि ती नाबालाकलाई ल्याएर अप्राकृतिक मैथुन तथा यौन दुराचार गरेका थिए । तर जब सिआइबीको जानकारीमा मर्कस् बाल यौन दुराचारी भएको जानकारी आयो, त्यसलगत्तै सिआइबीले उनीमाथि निगरानी बढायो र रङ्गेहात उनलाई पक्राउ गर्यो ।
प्रहरीको २०७४ साल कात्तिक २४ गते कोटेश्वरको एक गेष्ट हाउसबाट ७५ वर्षीय बृद्ध विदेशी नागरिकलाई पक्राउ गर्यो । उमेरले बृद्धावस्थामा पुगिसकेका उनलाई प्रहरीको सिआइबी टोलीले बाल यौन दुराचारको आरोपमा हेनेरिकसलाई पक्राउ गरेको थियो । नेदरल्याण्डका बाल यौन दुराचारी हेनेरिकसको टार्गेटमा पनि सडक बालबालिका तथा अभिभावकको प्रत्यक्ष रेखदेख नभएका बालकहरु पर्थे । हेनेरिकस ती बालकलाई भेटेपछि उनको बारेमा बुझ्थे र खानेकुरा तथा पैसाको लोभ देखाएर बालकलाई आफ्नो कोठासम्म ल्याउने गर्थे । त्यसपछि ती बालकलाई उनी सकेसम्म फकाएर बाल यौन दुराचारमा संलग्न गराउँथे ।
कुनै बालकले नमानेमा उनी जबरजस्तीसमेत गर्थे । एक बालकलाई फकाएर कोठामा पुराई बाल यौन दुराचार गरेपछि ती बालकका अभिभावकले प्रहरीमा उजुरी गरेको थियो । त्यही उजुरीका आधारमा सिआइबीले सुक्ष्म निगरानी राखिरहेकै अवस्थामा अर्को बालकलाई लिएर उनी आफ्नो गेष्ट हाउसमा आइपुगे । त्यसपछि सिआइबी टोलीले उनलाई पीडित एक बालकसहित रङ्गेहात पक्राउ गर्न सफल भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो अर्थात् सिआइबी टोलीले २०७४ पुष २९ गते भोटेबहालको एक डेराबाट एक विदेशी नागरिकसहित २ जना बालकलाई नियन्त्रणमा लियो ।
नियन्त्रणमा लिइएका विदेशी नागरिक थिए ६३ वर्षीय जर्मन नगरिक योगेन भन्ने ह्यान्स जर्जेन गुस्तव । सिआइबीले ती विदेशी नागरिकलाई बाल यौन दुराचार गरेको अभियोगमा पक्राउ गरेको थियो । समाजसेवाको आवरणमा देखिएका ती व्यक्ति वास्तवमा बाल यौन दुराचारी थिए । उनी पहिले गरीब तथा अनाथ बालकलाई आफ्नो प्रभावमा पार्थे । सहयोग गर्ने बहाना बनाएर एक दुई दिनसँगै लिएर घुम्थे । अनि खाना तथा खाजा खुवाउने, खेलकुद सामग्री तथा कपडा किनिदिने गर्थे ।
अन्ततः आफ्नो डेरामा लगेर बालकलाई यौन दुराचार गर्ने गर्थे । २०७५ साल जेठ ३१ गते सिआइबीको टोलीले सातघुम्ती ठमेलको एक होटलबाट नेदरल्याण्डका एक नागरिकलाई पक्राउ गर्यो । ६६ वर्षीय पिट हेन भानलाई पक्राउ गर्दा प्रहरीले बाल यौन दुराचारीको ओपमा पक्राउ गरेको थियो ।  पेशाले बाल चिकित्सक अर्थात् डाक्टर रहेका पिट हेन भान त्यसअघि बिगत ७ वर्षदेखि लगातार नेपाल आइरहेका थिए । उनको एकमात्रै उद्देश्य नेपाली बालकलाई यौन दुराचार गर्नु थियो ।
पिट हेनको बारेमा सूचना आएलगत्तै सिआबीले उनीमाथि निगरानी बढाएको थियो । एक पीडित बालकको अभिभावकले सिआइबीमा उजुरी गरेलगत्तै प्रहरीले पिटको पिछा सुरु गरेको थियो । सिआइबीले पिछा गरिरहेकै अवस्थामा पिट एक बालकलाई लिएर आफ्नो होटलमा पुगे । त्यसपछि सिआइबी टोलीले बालकलाई उद्धार गर्दै पिटलाई पक्रियो ।

 

प्रतिक्रिया दिनुहोस