‘क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्छ’

शनिबार, २६ माघ २०७५, १९ : १२
‘क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्छ’

file photo

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि सहयोग गर्ने बताउनुभएको छ ।

सोमबारदेखि यहाँ शुरु हुन लागेको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले सो क्रिकेट मैदानलाई प्रदेशको गौरवको योजनाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । वर्षाका कारण प्रतियोगिता हुने सो मैदानमा पानी जमेपछि खेल तालिका दुई दिनपछि सारिएको छ ।

समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’बाट र नेपाली क्रिकेटका पहिलो आधिकारिक प्रशिक्षक सुनोज भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ द्वारा सम्मानित गरिएको छ । उहाँहरुलाई जनही रु एक लाख प्रदान गरेर सम्मानित गरिएको हो ।

सोमबार हुने पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । यस्तै दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । प्रतियोगिताका लागि पाँच हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस