निर्देशकविहीन फिल्म, हिरोइनको आरोपः पैसा खाएर भाग्यो

पत्रपत्रिकाबाट

शनिबार, २६ माघ २०७५, ०९ : ०२
निर्देशकविहीन फिल्म, हिरोइनको आरोपः पैसा खाएर भाग्यो

निर्देशक बिनाको पनि फिल्म हुन्छ र ? सामान्य दर्शकले पनि भन्न सक्छ, ‘हुँदैन ।’ तर अहिले नेपाली फिल्म जगतमा एउटा फिल्म निर्देशकविहीन देखिएको छ । त्यो हो, अभिनेत्री दीपशिखा खड्काले निर्माण गरेको फिल्म ‘प्रेमलीला’ । यो फिल्मको गीत र ट्रेलर कतै पनि निर्देशकको नाम देखिँदैन ।

किन थाहा छ ? किनभने यस फिल्मका लागि निर्देशक भनेर अनुबन्धित भएका फिल्म निर्देशक जनक पाण्डे सुटिङको बीचैमा निर्देशनको जिम्मेवारीबाट बाहिरिए । अहिले हिरोइन–निर्देशक बीचको यो लफडा फिल्म क्षेत्रमा छताछुल्ल भइसकेको छ । दीपशिखा स्वयम्ले स्टाटस लेखेर निर्देशक फिल्मबाट बाहिरिनुको कारण खुलाएकी छन् ।

किन बाहिरिए निर्देशक ?
कुनै समय अभिनेत्री खड्का र निर्देशक पाण्डे अत्यन्तै मिल्ने साथी थिए । यतिसम्म कि दीपशिखा जनकको डेरासम्म आउनेजाने गर्थिन् । यही क्रममा उनीहरुबीच फिल्म बनाउने कुरा भयो– ‘प्रेमलीला’ । दीपशिखाको दाबीलाई मान्ने हो भने दुवैले आधाआधा पैसा हाल्ने सहमति भयो । त्यही सहमतिअनुरुप फिल्मको सुटिङ सुरु भयो ।

‘मैले कलाकारको पेमेन्ट उहाँलाई पहिले नै दिइसकेकी थिएँ तर उहाँले कलाकारलाई दिनु भएनछ,’ अभिनेत्री खड्काको आरोप छ, ‘काम गर्ने क्रममा कलाकारले आफ्नो पारिश्रमिक माग्न थाले । मैले कसैले पैसा पाएको छैन भन्ने गुनासो गरेका छन् त भन्ने सोध्दा उहाँले हुन्छ म दिन्छु भन्नुभयो तर कसैलाई दिनुभएन । त्यसपछि मैले पैसाको हिसाब मागेँ । पैसाको हिसाब माग्दा उहाँले निकाल्न सक्नुभएन । हिसाब निकाल्न नसकेपछि म एक्लै भएँ । उहाँ फिल्म छाडेर जानुभयो ।’

पाण्डे फिल्मबाट बाहिरिएपछि दुई महिना फिल्मको सुटिङ रोकिएको थियो । ‘त्यसपछि मैले आफैँ सबै समस्या ह्यान्डिल गरेर सुटिङ सकेँ,’ दीपशिखा भन्छिन्, ‘बारम्बार मैले निर्देशक र उनकी श्रीमतीलाई फोन गर्दा पनि फोन नउठाएपछि मैले म्यासेज गरेकी थिएँ । उहाँ बस्ने फ्लाटमा पोस्ट प्रोडक्सन हुँदादेखि नै गएकी थिएँ । पटक–पटक जाँदा ढोेकामा ताल्चा लागेको थियो । ताल्चा धेरै समयसम्म लाएको देखेपछि मैले त्यहाँ वरपर सोध्दा डेढ महिनाअघि नै डेरा सरेको पाएँ । अहिले उहाँ कता हुनुहुन्छ अत्तोपत्तो छैन ।’

लामो समय सम्पर्कमा नआएपछि दीपशिखाले निर्देशककी श्रीमतीलाई पुलिस केस गर्ने चेतावनीसहित म्यासेज पठाइछिन् । ‘त्यसपछि उहाँले हैसियतको कुरा गर्दै अनेकथरी लेखेर म्यासेज पठाउनुभयो । अनि अति भएपछि फेसबुकमा स्टाटस लेखेकी हुँ,’ दीपशिखाको भनाइ छ ।

दीपशिखाले जनकलाई निकालेको भन्दा पनि आफैँ छाडेर गएको बताएकी छन् तर उनी निकटस्थ श्रोतको दाबी छ, दीपशिखाले जनकलाई ‘लात’ हानेर फिल्मको जिम्मेवारीबाट निकालेकी हुन् । फिल्मको कुनै पनि सामग्रीमा उनको नाम नदेखिनुले प्रस्ट पार्छ, उनी निकालिएकै हुन् । फिल्मको सामग्रीमा निर्देशकको नाम नराखिए पनि मौखिक रुपमा दीपशिखा फिल्मको निर्देशक आफैँ भएको प्रतिक्रिया दिँदै हिँडिरहेकी छन् । नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस