गैंडामाथि चढेर तस्वीर खिच्नेको पहिचान, निकुञ्जद्वारा सचेत गराई रिहा

शुक्रबार, २५ माघ २०७५, २१ : २५
गैंडामाथि चढेर तस्वीर खिच्नेको पहिचान, निकुञ्जद्वारा सचेत गराई रिहा

सौराहा । बिहीबार गैंडामाथि एक युवक चढेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्यो । सोही तस्वीरको अधारमा चितवन राष्ट्रिय निकुञ्जले खोजी गरी २४ घण्टाभित्र नबित्दै उनको पहिचान गरेको छ । गैंडामाथि चढ्ने रत्ननगरपालिका–६ सौरहाका १४ वर्षीय अनुप महतो रहेका निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो ।
गत सालको बाढीले बगाएर घाईते भएको सो गैंडालाई निकुञ्जले उद्धार गरी सौराहा क्षेत्रमा ल्याएर छोडेको घिमिरेले बताउनुभयो ।  घिमिरेले ती व्यक्तिलाई सचेत गराई तारेखमा छोडिएको र आवश्यक कारवाहीको तयारी भइरहेको जानकारी दिनुभयो ।
गैंडालाई नै देखाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने क्षेत्रमा यस्तो गतिविधि हुनु दुःखद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले बताउनुभयो ।
क्षेत्रीय होटल संघ, चितवन सौराहाका अध्यक्ष सुमन घिमिरले व्यक्तिको विषयमा आफुलाई जानकारी नभएको बताउनुभयो । उहाँले टाढैबाट हेर्नुपर्ने गैंडालाई चढेको फोटोले नराम्रो सन्देश प्रवाह गरेको भन्दै सौराहा आउने पर्यटक र स्थानीयलाई यस विषयमा सजग बनाईएको बताउनुभयो । अध्यक्ष घिमिरेले घाईते गैंडाको संरक्षणमा निकुञ्जले विशेष ध्यान दिनुपर्ने बताउँदै सौराहा आसपास रहेका घाइते गैंडाहरुलाई छुट्टै राख्न माग गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस