बिजुलीको बिल अब मोबाइलमा पाइने, घरबाटै बिल तिर्न सकिने

शुक्रबार, ११ माघ २०७५, १४ : ५४
बिजुलीको बिल अब मोबाइलमा पाइने, घरबाटै बिल तिर्न सकिने

तानसेन । विद्युत् प्राधिकरणका उपभोक्ताले बिजुलीको बिल अब मोबाइलमा पाउने भएका छन् । उक्त बिल मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ । यो प्रणालीको विकासले अब विद्युत्को मिटर चेकजाँच गर्न कर्मचारी आउने छैनन् भने उपभोक्ता पनि विद्युत् कार्यालय पुग्नु पर्दैन ।

विद्युत् प्राधिकरणले सुरु गरेको टीओडी (टाइम अफ डे मिटर) मार्फत प्रत्येक उपभोक्ताको मोबाइल मासिक खपत युनिट र इमेलमा विद्युत् बिल पठाउन थालेको छ । प्राधिकरणले टीओडी मिटर निःशुल्क प्रदान गरेको छ ।

पाल्पाको सदरमुकाममा मात्र विद्युत् महसुलको काउन्टर हुँदा उपभोक्ताले ८० रुपैयाँको महसुल बुझाउन ८ सय रुपैयाँसम्म खर्च भएको र एक दिन बित्ने गरेको बताए । नयाँ डिजिटल टीओडी मिटरमा सिमसहित डाटा ट्रान्सफर मोडियम जडान गरिनेछ । डाटा मोडियमको माध्यमबाट प्राधिकरण कार्यालयका कर्मचारीले अफिसमै बसेर आधा–आधा घण्टाको विवरण प्राप्त गर्नेछन् । आधा घण्टामा विद्युत् खपत युनिट भोल्टेजको मात्रा, विद्युत्मा देखिएको समस्याजस्ता विवरण टीओडी मिटर मोडियममार्फत कार्यालयमा ग्राहकको विवरण आउने प्राधिकरण पाल्पा वितरण प्रमुख रामु श्रेष्ठले बताए ।

पहिलो चरणमा प्राधिकरण पाल्पाले २५ किभिए भन्दा बढी लोड लिने ग्राहकमा टीओडी मिटर जडान गरिने, दोस्रो चरणमा थ्रि फेज र तेस्रो चरणमा आम उपभोक्ताको घरमा जडान गरिने कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । पाल्पामा ११ वटा टीओडी मिटर जडान भइसकेको छ । पाल्पामा २५ किभएभन्दा माथिको लोड चलाउने ३७ जना, थ्रि फेज ग्राहक १३१४ जना र साधारण ३१ हजार ३ सय ७२ जना र ३१ वटा सामुदायिक लोड फिडर गरी ३२ हजार ७ सय ५४ जना ग्राहक छन् ।

मिटर रिडिङको दिन महिनाभरि खपत युनिट र रकमसहित अटोमेटिक सिस्टमबाट उपभोक्ताको मोबाइल र इमेलमा विद्युत् बिल जाने कार्यालयले जनाएको छ । यो प्रविधिको अपडेटपछि ६० दिनभित्र विद्युत् महसुल नतिर्ने ग्राहकको लाइनसमेत कार्यालयबाट बन्द गर्न र खोल्न सकिने इन्जिनियर विवेक अधिकारीले बताए । पाल्पामा १२ जना मात्र ग्राहक मिटर रिडिङ कर्मचारीले काम गर्दै आएका छन् । उपभोक्ताले मोबाइल एप्समार्फत ई–सेवा, खल्ती, विभिन्न बैंकमार्फत विद्युत् महसुल भुक्तानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस