एमाले-माओवादी पार्टीका शीर्ष नेतासहित संयुक्त कार्यदलको बैठक बालकोटमा जारी

बुधबार, २६ पुस २०७४, १० : ४३
एमाले-माओवादी पार्टीका शीर्ष नेतासहित संयुक्त कार्यदलको बैठक बालकोटमा जारी

काठमाडौँ । वाम गठबन्धनका दुई घटक नेकपा एमाले र माओवादी केन्द्र बुधबार बिहानदेखि छलफलमा जुटेका छन् ।
सरकार निर्माण, प्रदेश सांसद र राष्ट्रिय सभाको विषयमा केन्द्रीत रहेर दुई पार्टीका शीर्ष नेता तथा संयुक्त कार्यदल सदस्यहरु छलफलमा जुटेका हुन् ।

बैठक यतिबेला नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसिरहेको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले  जानकारी दिए ।

एकता संयोजन समितिको बैठक मंगलबार साँझ पनि बालकोटमा बसेको थियो । बैठकले आगामी राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र सरकार निर्माणका लागि उपसमिति गठन गरेको थियो । कार्यदललाई राष्ट्रिय सभा, प्रदेश संसद् र प्रदेश सरकार गठनसम्बन्धी समग्र गृहकार्य गर्ने कार्यादेश दिइएको छ ।

उपसमितिमा  एमालेका तर्फबाट नेता सुवास नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

एमाले अध्यक्ष केपी ओली आज दिउँसो स्वास्थ्य उपचारका लागि बैंकक जाने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस