पराजित वर्गले सरकारको कामलाई निस्तेज पार्न प्रयत्न गर्दैछन् : प्रचण्ड

आइतबार, २२ पुस २०७५, १९ : ४४
पराजित वर्गले सरकारको कामलाई निस्तेज पार्न प्रयत्न गर्दैछन् : प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताउनुभएको छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उहाँले यस अवसरलाई खेर पाल्न नहुने बताउनुभयो । 

वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को आज बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाउनुभयो । उहाँले दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धी गुम्ने खतरा रहेको र सरकारले जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको समेत औँल्याउनुभयो । 

जनतालाई विभिन्न किसिमले भ्रमित बनाउने र कम्युनिष्ट एकतालाई विफल पार्न दायाँ वा बायाँ कोणबाट वा देशीविदेशी शक्तिबाट विभिन्न चलखेल भइरहेको बताउँदै उहाँले भन्नुभयो, “चलखेल निस्तेज पार्न सबैको हातेमालो जरुरी छ ।” अध्यक्ष दाहालले विश्व क्रान्तिको आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेको बताउँदै अब कम्युनिष्ट आन्दोलनलाई अग्रगमनतर्फ भन्दा पनि रक्षात्मक तरिकाले अघि बढाउनु जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा वरिष्ठ प्रगतिशिल लेखक तथा साहित्यकार दिल साहनीले लोकतन्त्रको सुदृढीकरणका लागि पत्रकारिताको खबरदारी सदैब हुनुपर्नेमा जोड दिनुभयो । पत्रिकाका प्रकाशक तथा वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले विगतमा जस्तै देश, जनता र प्रजातन्त्रका खातिर पत्रकारितामार्फत योगदान दिन र लोकतन्त्रका विरोधीलाई खबरदारीका लागि आफूले फेरी पत्रिका प्रकाशन गर्न लागेको जानकारी दिनुभयो । 

यस लगत्तै अध्यक्ष दाहालले आजै बुटवलस्थित नेकपाको पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहँुदै स्थायी कमिटीको बैठकले कार्यकर्तामा एकतालाई अझै बलियो र उत्साहको सन्देश दिएको बताउनुभयो । उहाँले अब छिट्टै नै तल्लो तहसम्म एकताको टुङ्गो लाग्ने बताउँदै कार्यकर्तालाई पार्टी काममा सक्रियता पूर्वक लाग्न निर्देशनसमेत दिनुभयो । 

भेलालाई सम्बोधन गरेर बाहिरिँदै गर्नुभएका अध्यक्ष दाहाललाई पत्रकारले सरकारमा मन्त्रीको फेरबदलको विषयमा सोधको प्रश्नमा उहाँले तत्कालन मन्त्रिपरिषद् फेरबदल नहुने स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले सरकारका काम कारवाही र मन्त्रीको कामका बारेमा गम्भीर समीक्षा गरिरहेको छौँ तर तत्कालै मन्त्रिपरिषद् पुनःगठनको कुनै सम्भावना छैन भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस