देशको गौरव बढाउनु भएको भन्दै अध्यक्ष प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०७५, १२ : ५८
देशको गौरव बढाउनु भएको भन्दै अध्यक्ष प्रचण्डद्वारा स्वर्ण पदक विजेता महर्जनलाई बधाई

ललितपुर  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिनुभएको छ । 

अध्यक्ष प्रचण्डकाे निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा आउनु भएका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरकाे प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।  
 
उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उँचो पार्न सहयोग गरेकोमा बधाई दिनुभएको हो । “तपाईले उत्कृष्ट कौशल देखाउनु भयो । यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ ।” अध्यक्षले भेटका अवसरमा भन्नुभयो, “विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ ।” 
आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै अध्यक्षले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने समेत बताउनु भयो । राष्ट्रिय एकता तथा विश्वका अगाडि नेपाललाई चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्नुहुँदै अध्यक्षले पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने समेत बताउनुभयो ।  

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताउनु भएकाे थियाे । अध्यक्ष प्रचण्डले सरकार र पार्टीका तर्फबाट उनको खेल जीवनलाई अझै विकास गर्न आवश्यक सहयोगका लागि पहल गर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस