रोनाल्डोलाई मेसीको जवाफ : चुनौती स्विकार्नु आवश्यक छैन

एजेन्सी

शनिबार, १४ पुस २०७५, १७ : ५३
रोनाल्डोलाई मेसीको जवाफ : चुनौती स्विकार्नु आवश्यक छैन

एजेन्सी । दुई साताअघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लियोनल मेसीलाई सिरिएमा आबद्ध हुन आग्रह गरेका थिए । जीवनमा केही नयाँ र चुनौती सामना गर्न पनि फरक क्लबबाट प्रतिस्पर्धा गर्नुपर्ने धारण रोनाल्डोले राखे । आफ्ना समकक्षी वा आलोचकविरुद्ध खासै मुख नखोल्ने मेसीले यसपटक भने उत्तर फर्काएका छन् । हाल विन्टर ब्रेकमा परिवारसँग मस्ती गरिरहेका बार्सिलोनाका कप्तान मेसीले कसैको चुनौती स्वीकार गर्नुपर्ने बाध्यता नरहेको स्पष्ट पारेका छन् । 

चुनौती स्विकार्नु आवश्यक छैन
रोनाल्डोले सिरिएमा खेल्न प्रस्ताव राखेपछि मेसीलाई स्पेनिस मिडियाहरूले त्यसको उत्तर मागिरहेका थिए । तर, मेसीले उपयुक्त समय आएपछि त्यसको उत्तर पाउने जवाफ फर्काएका थिए । विन्टर ब्रेकरका अवसरमा खुला दिमागसाथ मेसीले रोनाल्डोका सबै प्रश्नको उत्तर दिएका छन् । उनी भन्छन्, ‘रोनाल्डोले मलाई सिरिएमा खेल्न प्रस्ताव गरेका छन्, मेरो व्यक्तिगत धारण राख्दा उनको चुनौती स्विकार्नुपर्ने आवश्यकता छैन’ बार्सिलोनामा रहँदा प्रत्येक वर्ष नयाँ चुनौती थपिरहेको दाबी उनले गरेका छन् ।  

जहाँ चुनौती त्यहीँ जीवन
मेसीले सिरिएको तुलनामा स्पेनिस ला लिगामै चुनौती बढी हुने गरेको दाबी गरेका छन् । ‘मैले प्रत्येक वर्ष बार्सिलोनाबाट प्रतिस्पर्धा गर्दा नयाँ चुनौती पाउने गरेको छु,’ सिरिएभन्दा स्पेनिस लिगा नै बलियो रहेको तर्क गर्दै मेसीले थपे, ‘अझ स्पेनिस फुटबल विश्वकै प्रतिस्पर्धी लिग हो ।’ उनले आफूलाई मन लागेको क्लब छाडेर अन्यत्र जानुपर्ने आवश्यकता नभएको पनि बताए । ‘मलाई यति वेला कुनै पनि क्लब परिवर्तन गर्नुपर्ने आवश्यक छैन,’ बार्सिलोनामै करिअर सकाउने लक्ष्य राखेका मेसीले भने, ‘म आफ्नै घरेलु मैदानमै खेलिरहेको छु, यहाँ म खुसी छु ।’

रोनाल्डोलाई मिस गरिरहेको छु 
स्पेनिस लिगको रोमाञ्चकता भनेको एल क्लासिको हो । अझ पछिल्लो ९ वर्षमा एल क्लासिकोमा बार्सिलोनाबाट मेसी र रियल म्याड्रिडबाट रोनाल्डोबीचको नै मुख्य भिडन्त हुने गथ्र्यो । लगभग सबैमा मेसीले नै बाजी मारेका छन् । यसपटकको एल क्लासिकोमा रोनाल्डोविनाको रियलमाथि बार्सिलोनाले एकपक्षीय नतिजा निकाल्यो । धेरैजसोले रोनाल्डो नहुँदा मेसी एल क्लासिकोमा एक्लो प्रतिस्पर्धी भएको दाबी गरे । यता मेसीले पनि केही हदसम्म रोनाल्डोलाई मिस गरेको प्रतिक्रिया दिएका छन् । ‘मैले पनि केही हदसम्म रोनाल्डोलाई स्पेनिस लिगामा मिस गरेँ,’ रोनाल्डोको प्रश्नको जवाफ फर्काउँदै मेसी भन्छन्, ‘तर खेल जीवन भनेको यस्तै हो, यहाँ हरेक दिन नयाँ–नयाँ प्रतिद्वन्द्वीको सामना गर्नुपर्छ ।’ दुई साताअघि रोनाल्डोले भनेका थिए, ‘यति वेला मेसीले स्पेनिस लिगामा मलाई मिस गरेको हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस