काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणलाई सरकारको मुख्य लक्ष्यका रूपमा अघि सारिएको जानकारी दिए।
उनका अनुसार प्रदेशको दोस्रो आवधिक योजनालाई कार्यान्वयनमा लैजाने उद्देश्यसहित नीति तथा कार्यक्रम तयार गरिएको हो। लक्ष्य हासिल गर्न आवश्यक कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको उनले उल्लेख गरे।
नीति तथा कार्यक्रममा प्रदेश सरकारलाई नागरिकमैत्री बनाउने उद्देश्यसहित प्रशासनिक तथा संस्थागत संरचनामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै संघीय शासन प्रणालीलाई संविधानको मर्मअनुसार प्रभावकारी रूपमा संस्थागत गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।
प्रदेश सरकार बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनमा केन्द्रित रहने उल्लेख गर्दै सामाजिक तथा क्षेत्रीय विभेद न्यूनीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाइएको छ।
तीन तहका सरकारबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउँदै प्रदेशको समृद्धि हासिल गर्ने नीति सरकारको मूल ध्येय रहेको पनि कार्यक्रममा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ जेठ २०८३, १६ : ०४
लेखकबाट थप