हटाइयो पोखराको अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका ५३ टहरा

सफल खबर संवाददाता

सोमबार, ०४ जेठ २०८३, १० : ५५
हटाइयो पोखराको अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका ५३ टहरा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि सञ्चालित अस्थायी संरचना हटाइएको छ । विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका ५३ व्यावसायिक टहरा पूर्ण रूपमा खाली गरिएको हो ।

विद्यालय प्रशासनले यसअघि पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीले अवज्ञा गर्दै आएका थिए । सोही विवादका क्रममा व्यवसायीले अदालतमा मुद्दा समेत दायर गरेका थिए ।

तर, अदालतले विद्यालयका पक्षमा फैसला सुनाएपछि पुनः १५ दिने सूचना जारी गरिएको थियो । सूचनाको म्याद समाप्त हुन लाग्दा पोखरा महानगरपालिकाका प्रमुख र व्यवसायीबीच भएको छलफलपश्चात् टहरा हटाउन जेठ ४ गते (आज)सम्मको अन्तिम समयसीमा तोकिएको थियो । सोही सहमतिबमोजिम व्यवसायीले आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गरी टहरा खाली गरेका हुन् ।

लामो समयदेखि विद्यालयको जग्गामा रहेका संरचना हटाइएसँगै उक्त जग्गा अब विद्यालयको पूर्ण स्वामित्व र उपयोगमा आएको छ । 

प्रतिक्रिया दिनुहोस