रास्वपाले गर्यो स्थानीय तह निर्वाचनका लागि 'उम्मेदवार छनोट रूपरेखा' मस्यौदा सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, ०८ : १०
रास्वपाले गर्यो स्थानीय तह निर्वाचनका लागि 'उम्मेदवार छनोट रूपरेखा' मस्यौदा सार्वजनिक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८३ सालमा हुने स्थानीय तह निर्वाचनका लागि 'उम्मेदवार छनोट रूपरेखा' मस्यौदा सार्वजनिक गरेको छ। 

पार्टीले परम्परागत राजनीतिक शैली र नेताहरूको तजबिजी अधिकारलाई विस्थापित गर्दै पूर्ण रूपमा पद्धति र प्रमाणमा आधारित उम्मेदवार चयन गर्ने नीति अघि सारेको हो।

सार्वजनिक गरिएको नयाँ रूपरेखा अनुसार उम्मेदवार बन्न चाहनेले सबैभन्दा पहिले 'क्यानडिडेट क्लब' मा आबद्ध भएर औपचारिक आवेदन दर्ता गर्नुपर्नेछ। पार्टीले उम्मेदवारको अन्तिम टुङ्गो लगाउन चारवटा मुख्य आधार तय गरेको छ । जसमा ४० प्रतिशत भार प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) लाई दिइएको छ भने २५ प्रतिशत भार नेतृत्व क्षमता र वैचारिक स्पष्टताका लागि 'लिडरसिप एकेडेमी' को परीक्षालाई छुट्याइएको छ। 

त्यसैगरी, २५ प्रतिशत भार राजनीतिक योगदान र लोकप्रियताका लागि 'पोलिटिकल प्रोक्सिमिटी' र बाँकी १० प्रतिशत भार समावेशिताका लागि निर्धारण गरिएको छ। उम्मेदवार छनोट प्रक्रियालाई प्रविधिमैत्री र धाँधलीरहित बनाउन रास्वपाले डिजिटल प्रणालीको उच्चतम प्रयोग गर्ने भएको छ। 

प्रारम्भिक निर्वाचनमा पार्टी सदस्यहरूले मोबाइल एपमार्फत मतदान गर्न पाउनेछन् भने उक्त मतदान प्रक्रियालाई सुरक्षित राख्न 'ब्लकचेन' प्रविधिको प्रयोग गरिने रूपरेखामा उल्लेख छ। 

उम्मेदवारको योग्यता परीक्षणका क्रममा लिडरसिप एकेडेमीले सुशासन, स्थानीय सरकार सञ्चालन, बजेट निर्माण र डिजिटल साक्षरता जस्ता सातवटा विभिन्न विषयमा प्रशिक्षण र परीक्षा सञ्चालन गर्नेछ।

रूपरेखाले 'क्लिन' र इमानदार नेतृत्वका लागि कडा प्रावधानहरू पनि राखेको छ। अन्य राजनीतिक दलबाट प्रवेश गर्नेहरूका लागि ९० दिनको 'कुलिङ पिरियड' तोकिएको छ भने आर्थिक लेनदेन, गुटबन्दी वा चरित्र हत्या जस्ता क्रियाकलापमा संलग्न हुनेलाई तत्काल निष्कासन गर्ने 'जिरो टोलेरेन्स' नीति अख्तियार गरिएको छ।

 पार्टीले उम्मेदवार छनोटको यो विधिलाई राज्य पुनर्संरचनाको आधारभूत राजनीतिक प्रक्रियाका रूपमा व्याख्या गर्दै यसले नेपालको लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापना गर्ने विश्वास व्यक्त गरेको छ। सबै तहका नागरिकको समान पहुँच सुनिश्चित गर्न ल्याइएको यो समावेशी र पारदर्शी मोडलले नातावाद र कृपावादलाई अन्त्य गर्ने दाबी रास्वपाको छ। 

यो समग्र प्रक्रियाको कार्यान्वयन र समन्वयका लागि केन्द्रमा एक शक्तिशाली 'उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति' गठन गरिने बताइएको छ। यस विधिबाट छानिएका उम्मेदवारहरू स्थानीय आवश्यकता बुझेका, सक्षम र जनताप्रति उत्तरदायी हुने अपेक्षा पार्टीले लिएको छ।

पार्टीको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार छनौट रूपरेखा निर्माण समितिको तर्फबाट आइतबार हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस