एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको आरोपमा क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस एलेनमाथि वासिङ्टनको अदालतमा मुद्दा दायर गरिएको छ।
गत शनिबार ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनको रात्रिभोज कार्यक्रम चलिरहेको वासिङ्टन हिल्टन होटलमा सुरक्षा घेरा तोडेर आक्रमण गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
अभियोजनकर्ताहरूका अनुसार एलेनले अर्ध-स्वचालित ह्यान्डगन, एउटा पम्प-एक्सन शटगन र तीनवटा चक्कुसहित सुरक्षा चौकीमा आक्रमण गरेका थिए।
सो क्रममा भएको गोली हानाहानमा एकजना सिक्रेट सर्भिस एजेन्टको छातीमा गोली लागेको थियो । तर बुलेटप्रुफ ज्याकेटका कारण उनी जोगिएका थिए । घटना लगत्तै राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र अन्य उच्च अधिकारीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
एलेनले आक्रमणअघि आफ्नो परिवारलाई पठाएको इमेलमा प्रशासनका उच्च अधिकारीहरूलाई निशाना बनाउने उल्लेख गरेको अनुसन्धानबाट खुलेको बीबीसीको समाचारमा भनिएको छ । उनी क्यालिफोर्नियाको टोरेन्सबाट रेल चढेर सिकागो हुँदै वासिङ्टन पुगेको र होटलमा कोठा लिएर बसेको पाइएको छ।
सोमबार अदालतमा उपस्थित गराउँदा एलेन शान्त देखिएका थिए। यस घटनापछि ह्वाइट हाउसले राष्ट्रपतिको सुरक्षा व्यवस्थाको गम्भीर समीक्षा सुरु गरेको छ। यदि हत्या प्रयासको अभियोगमा दोषी ठहरिएमा एलेनले जन्मकैदको सजाय भोग्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ बैशाख २०८३, ०९ : ०२
लेखकबाट थप