गोरखाको सामागाउँ जङ्गलमा आगलागी

सोमबार, ०९ पुस २०७५, १२ : ३०
गोरखाको सामागाउँ जङ्गलमा आगलागी

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो । 

पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ गएको गाइडले खाएर फालेको चुरोटको ठुटोबाट आगलागी शुरु भएको हुनसक्ने वडाध्यक्ष वीरबहादुर लामाले बताउनुभयोे । “अहिले पनि आगो नियन्त्रणको प्रयास गरिरहेका छौँ तर कतिबेलासम्म नियन्त्रण हुने हो भन्न सकिएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म कति क्षेत्रफल जङ्गलमा आगलागी भयो भन्नेबारे पनि यकिन पनि गर्न सकिएको छैन । ” 

आगलागी नियन्त्रणका लागि सामागाउँ प्रहरीचौकी, लार्केस्थित प्रहरीचौकीबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस