पहिरोको जोखिम अध्ययन शुरु

सोमबार, ०९ पुस २०७५, ११ : ५३
पहिरोको जोखिम अध्ययन शुरु

म्याग्दी । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ । 
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राविधिक टोली ल्याएको हो । 

भूगर्भविद् सञ्जय देवकोटा, राजमार्ग विज्ञ सञ्जीतकुमार झा र वातावरणविद् पूर्णचन्द्रराल राजभण्डारीको टोलीले आइतबारदेखि स्थलगत अध्ययन शुरु गरेको शर्मा–गजुरमुखी कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताउनुभयो । 

गुइठे, जलथले, काभ्रे, लेतेलगायत भुरुङ तातोपानीदेखि कोवाङसम्मको सडक वरपरको क्षेत्रमा पहिरोको जोखिमको बारेमा अध्ययन गरिने भएको हो । निर्माण कम्पनीले आफ्नै खर्चमा विज्ञ ल्याएर अध्ययन शुरु गरेको क्षेत्रीले बताउनुभयो । 

विज्ञ टोलीले दिने प्रतिवेदनको आधारमा आयोजनासँग समन्वय गरेर सडकको संरचना तयार पारिने क्षेत्रीको भनाइ छ । कालीगण्डकी नदीको पश्चिमी भागको किनारै किनार निर्माणाधीन सडक भिरालो, कमजोर भूगोल र तटीय क्षेत्र भएकाले पहिरो र कटानको जोखिममा छ । 

गत वर्षात्मा बाढी र पहिरोका कारण शर्मा–गजुरमुखी कम्पनीले काम गरिरहेको क्षेत्रमा रु पाँच करोड मूल्य बरारबको भौतिक क्षति पु¥याएको दाबी गरेको छ । 

भूगोल अनुकूल, वातावरणलाई असर नपुग्ने गरी संरचना बनाएर दिगो र क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राविधिक अध्ययन शुरु गरिएको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडकलाई कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ । 

मङ्सिर महीनादेखि सडक स्तरोन्नतिको लागि बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी आवतजावत रोकेर काम गर्ने व्यवस्था मिलाइएको छ । बिहान ७ः३० देखि दिउँसो ११ः३० बजेसम्म र दिउँसो २ः३० बजेदेखि ६ः३० बजेसम्म सवारी आवातजावत रोकेर सडक निर्माणको काम गरिँदै आएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस