देश समृद्ध बनाउन महिलाहरुलाई उत्पादनसँग जोडौं : खानेपानी मन्त्री मगर

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०७५, १७ : ५२
देश समृद्ध बनाउन महिलाहरुलाई उत्पादनसँग जोडौं : खानेपानी मन्त्री मगर

काठमाडौँ । खानेपानी मन्त्री बीना मगरले समृद्ध नेपाल निर्माणका लागि महिलाहरुलाई उत्पादनमुलक कार्यमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।  
नेपाल उद्यमशील महिला महासंघले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला’ को समापन गर्दै मन्त्री मगरले महिलाहरुको क्षमता अभिवृद्धि गर्न महिलाहरुलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पुरुषको तुलनामा महिलाहरुले बढी संघर्ष, मेहनत र त्याग गर्नुपर्छ । महिलाहरुमा केही गरौं भन्ने दृढ संकल्प हुन्छ । त्यही संकल्पले नै उनीहरुलाई सफल बनाउँछ । त्यसैले सबै मिली महिलाहरुलाई उद्यमी बनाउन हौसला प्रदान गरौं ।”
उहाँले यस्तो मेलालाई देशव्यापी बृहत बनाउन महोत्सवको रुपमा आयोजना गर्नुपर्ने धारणा राख्नुभयो ।  महासंघकी अध्यक्ष देवकी बुढाथोकीले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महिला सशक्तीकरणको खाँचो रहेको र आर्थिक विकासका लागि घरेलु उद्योगमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
आन्तरिक उत्पादन प्रबद्र्धन गर्ने उद्देश्यले गत पुस ५ गतेबाट सुरु भएको मेला आईतबार सकिएको हो ।  मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका हस्तकला वस्तु र प्राङ्गारिक कृषि उपज प्रदर्शन गरिएको थियो ।
देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको महासंघमा हाल एक हजार २०० महिला उद्यमी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस