राष्ट्रिय सभा समितिद्वारा तीन संसदीय उपसमिति गठन

सफल खबर संवाददाता

सोमबार, ०७ बैशाख २०८३, १४ : १२
राष्ट्रिय सभा समितिद्वारा तीन संसदीय उपसमिति गठन

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आफ्नो कार्यक्षेत्रलाई प्रभावकारी बनाउन तीनवटा उपसमितिहरू पुनर्संरचना गरेको छ।

सिंहदरबारमा सम्पन्न बैठकले संघीयता सबलीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा र सामाजिक न्यायसम्बन्धी विषय समेट्ने गरी उपसमितिहरूको नयाँ गठन गरेको हो।

समितिका अनुसार संघीयता सबलीकरण उपसमितिको संयोजकमा श्रीकृष्णप्रसाद अधिकारी चयन भएका छन्। उक्त उपसमितिमा उदय बोहरा, किरणबाबु श्रेष्ठ र सोनाम गेल्जेन शेर्पा सदस्यका रूपमा रहेका छन्।

 

त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा राष्ट्रिय सुरक्षा उपसमितिको नेतृत्व विष्णुकुमारी सापकोटालाई दिइएको छ। यस उपसमितिमा नारायणदत्त मिश्र, ललितजंग शाही र दुर्गाकुमारी गुरुङ सदस्य रहेका छन्।

सामाजिक न्यायसम्बन्धी उपसमितिको संयोजकमा रोशनी मेचे चयन भएकी छन् भने धर्मेन्द्र पासवान र मनरुपा शर्मा सदस्यको जिम्मेवारीमा छन्।

समिति सभापति जयन्तीदेवी राईका अनुसार पुनर्गठित उपसमितिहरूले संघीय संरचनाको सुदृढीकरण तथा राष्ट्रिय सरोकारसँग सम्बन्धित विभिन्न क्षेत्रहरूमा अध्ययन, विश्लेषण र प्रतिवेदन तयार गर्ने जिम्मेवारी वहन गर्नेछन्। साथै समितिका कार्यक्षेत्रअन्तर्गतका विषयमा गहिरो अध्ययनमार्फत नीतिगत सुझाव प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस