भरतपुर महानगरको शिक्षालाई प्रविधिमैत्री र प्राविधिक बनाउँछौँ

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १४ : १४
भरतपुर महानगरको शिक्षालाई प्रविधिमैत्री र प्राविधिक बनाउँछौँ

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको शिक्षालाई प्रविधिमैत्री र प्राविधिक बनाउने बताउनुभएको छ । 
भरतपुर ३ बेलचोकमा रहेको लिटिल फ्लावर स्कुलको रजत जयन्ती समारोहको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुर महानगरले शैक्षिक क्षेत्रको व्यापक विकास गर्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरको शैक्षिक विकासको लागि नगर शिक्षा ऐन पारित गरी राजपत्रमा समेत लेखिएको छ, यसको मूल उद्देश्य शिक्षालाई व्यापक रुपमा सुधारीकरण गर्न खोज्नु हो ।’
महानगर प्रमुख दाहालले भरतपुर महानगरले संस्थागत विद्यालयहरुले जम्मा विद्यार्थीमध्ये १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्ति दिने कार्यविधि बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि विद्यालयले जम्मा विद्यार्थीमध्ये विपन्न १० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्छ । महानगरले त्यस्तो कार्यविधि बनाएर पारित गरेको छ ।’

भरतपुर महानगरले नगर शिक्षा समिति गठन गरेको छ । महानगर प्रमुख दाहालले निजी र सामुदायिक दुबै विद्यालयको गुणस्तर उस्तै आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजी विद्यालय अघि बढेका छन्, सामुदायिक विद्यालयहरु पनि अघि बढ्नुपर्छ ।’ भरतपुर महानगर देशकै उत्कृष्ट महानगर बन्दै गइरहेको उहाँको भनाइ थियो । 
लिटिल फलोवर स्कुलको रजत जयन्ती कार्यक्रममा प्याव्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारी, वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित, उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, शिक्षाप्रेमी लेखनाथ खनाललगायतले गुणस्तरीय शिक्षामा जोड दिनुभएको थियो । 
लिटिल फ्लोवर स्कुलका प्रिन्सिपल रविले विद्यालयको संक्षिप्त परिचय दिनुभएको थियो । उहाँले लिटिल फ्लावरले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । लिटिल फ्लावरले एसईईमा वर्सेनि उत्कृष्ट नतिजा ल्याइरहेको छ । २५ वर्ष अघि ३० विद्यार्थी लिएर सुरु भएको यस विद्यालयमा हाल १८ सय विद्यार्थी छन् । 


 

प्रतिक्रिया दिनुहोस