बालाजु बाइसधारामा श्रद्धाको सागर (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०८२, १३ : ५२
बालाजु बाइसधारामा श्रद्धाको सागर (फोटो फिचर)

काठमाडौं । बालाजुको बाइसधारामा यतिबेला भक्तजनहरूको ठूलो घुइँचो छ । विशेषगरी ‘ल्हुति पुन्हि’ का अवसरमा लाग्ने यस मेलामा बाइस वटा ढुङ्गेधारामा स्नान गर्नाले शरीरका रोगव्याधि निको हुने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

मन्दिर परिसरलाई रङ्गीचङ्गी ध्वजापताकाले सजाएर पवित्र बनाइएको छ । भक्तजनहरू एकाबिहानैदेखि लामवद्ध भई प्रत्येक धाराबाट झर्ने जलले स्नान गरिरहेका छन् । साधु–सन्तहरूबाट आशीर्वाद लिने र धार्मिक विधिअनुसार पूजा–अर्चना गर्नेहरूको उत्साहले यस क्षेत्रको वातावरण अत्यन्तै आध्यात्मिक र शान्त तुल्याएको छ । यो केवल एउटा मेला मात्र नभएर नेपाली जनजीवनमा रहेको अटुट धार्मिक आस्थाको जीवन्त प्रदर्शन पनि हो ।

बालाजुको बाइसधारा केवल एउटा ऐतिहासिक संरचना मात्र होइन, यो त प्रकृति र मानवीय भावनाको एउटा सुन्दर महाकाव्य हो । ढुङ्गाका कलात्मक धाराबाट अविरल झरिरहेका पानीका थोपाहरूले इतिहासका अनेकन सुस्केराहरूलाई पछ्याइरहेका जस्तो लाग्छ । चाउरिएका अनुहारका श्रद्धा र बालबालिकाका कौतुहलताले मानिस र प्रकृतिको गहिरो सम्बन्धलाई उजागर गर्दछन् । हावामा फर्फराइरहेका रङ्गीन पताकाहरूले मानिसका रङ्गीन सपना र प्रार्थनाहरूलाई आकाशसम्म पु¥याइरहेका छन् ।

पोखरीको स्थिर र हरियो पानीमा देखिने रुखका प्रतिविम्वहरूले शान्तिको नयाँ परिभाषा दिइरहेका छन् । यहाँको हरेक कुनामा एउटा कथा लुकेको छ—कहिले पानीको कलकलमा, त कहिले भक्तजनको मौन प्रार्थनामा । बाइसधारा एउटा यस्तो चौतारी हो जहाँ सभ्यता, कला र संवेदनाको त्रिवेणी बग्दछ।

प्रतिक्रिया दिनुहोस