कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०८२, १३ : ४४
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । 

कामपाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने तयारी छ । “त्यसका लागि कामपाले चाबहिल, डिल्लीबजार र कलंकी मालपोत कार्यालयसँग सहकार्य गर्ने छ”, उनले भने । 

यसअघि चार किल्ला सिफारिस, घर बाटो सिफारिस जस्ता सेवा दिँदै आएकामा अब वडाबाट भूमि प्रशासन सेवासमेत सञ्चालन गर्न लागेको हो । 

भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम वडाबाटै प्राप्त हुनेछन् । 

“नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापन पनि वडाबाटै हुनेछ,” कामु प्रमुख डंगोलले भनिन् । 

कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । सोही अनुरूप अहिले कार्यान्वयन गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस