महानगरवासीको चाहना बमोजिम अघि बढेका छौं : दाहाल

बुधबार, ०४ पुस २०७५, १५ : ३६
महानगरवासीको चाहना बमोजिम अघि बढेका छौं : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफूहरु महानगरवासीको चाहना बमोजिम नै अगाडि बढिरहेको दाबी गर्नु भएको छ । बुधबार भरतपुर २० मा भएको आर्थिक वर्ष २०७५/०७६ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो दाबी गर्नु भएको हो ।

प्रमुख दाहालले वडा र महानगरपालिकाले विनियोजन गरेको बजेटको कामको अनुगमन र खबरदारी नगरवासीले गर्नुपर्ने बताउनु भएको छ । प्रमुख दाहालले जनप्रतिनिधि र कर्मचारीहरूबाट कुनै पनि प्रकारको अनियमितता, ढिलासुस्ती वा सेवा प्रवाहमा गुनासो भए सोझै आफूलाई जानकारी गराउन नगरवासीहरूलाई आग्रह गर्नुभयो । दाहालले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै समग्र क्षेत्रको समुचित विकासले मात्र सुखी नेपाली समृद्ध नेपाल भन्ने राष्ट्रिय नारा साकार पार्न सकिने बताउनु भयो । उहाँले आफूहरु पनि त्यसै बमोजिम काममा लागिरहेको बताउनु भयो । उहाँले विषयगत सरकारी कार्यलयका प्रमुखहरूलाई महानगरपालिकाभित्र संचालनमा आएका कार्यक्रमहरू समयमै गुणस्तरीय रूपमा गुनासो नआउने गरी सम्पन्न गर्न निर्देशन समेत दिनुभयो । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले कार्यक्रमको औचित्य र यसले पार्ने प्रभावको बारेमा जानकारी दिँदै यस्ता कार्यक्रमहरूले महानगर र महानगरवासीलाई एक आपसमा जोड्ने बताउनु भयो । उहाँले महानगरको सेवा प्रवाहको विषयमा उठेका जिज्ञासाहरूको जवाफ दिनु भएको थियो ।

कार्यक्रममा विषयगत सरकारी कार्यालयहरूसँग सम्बन्धित जिज्ञासहरूको समाधान विषयगत कार्यालयका प्रमुखहरू तथा वडागत जिज्ञासहरूको समाधान वडा अध्यक्षहरूले गर्नु भएको थियो । महानगरपालिकाको समग्र शान्ति सुरक्षाको अवस्था र भावी योजनाका बारेमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र प्रहरी प्रमुख सुशीलसिंह राठोरले जानकारी गराउनु भएको थियो ।

चितवन उद्योेग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले महानगरपालिकालाई दिगो विकासको पक्षमा योजनाहरू अगाडि बढाउन आग्रह गर्दै ४० हजार विदेसिएका नगरवासीहरूलाई फर्काउने योजनाहरू ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा तिर्थ रेग्मी, चिन्तामणी पौडेल, गणेश भण्डारी, रामकृष्ण अर्याल, रोशनप्रसाद काफ्ले, सुमित्रा श्रेष्ठ, प्रविण ढकाल, हरिकला सुवेदी लगायत ९० जना सहभागीले वडाको विकास निर्माण, सरसफाइ, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी, कृषि मल बीउ उचित बजारको व्यवस्था, पारदर्शी सेवा प्रवाह तथा गुणस्तरीय विकास निर्माणको विषयमा प्रश्न राखेका थिए । 

नेपाल पत्रकार महासंघ चितवन शाखाको संयोजनमा भरतपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रम महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले स्वागत मन्तव्य राख्नु भएको थियो । वडा कार्यालय तथा महानगरपालिकामा गरिएको सर्वेक्षण प्रतिवेदन पत्रकार चिन्तामणी पौडेलले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा सय जना सेवाग्राहीको भनाइ समेटिएकोमा ७२ जनाले महानगरपालिकाले सकारात्मक कार्य संचालन गरेको बताएका थिए भने केहीले ठिकै र बाँकीले ढिलासुस्ती भएको बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस