सर्लाही । प्रतिनिधि सभा सदस्य सर्लाही जिल्ला निर्वाचन क्षेत्र नं. २ को मतगणना शुक्रबार बिहानबाट सुरु गरिएको छ । शुक्रबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाको अध्यक्षतामा बसेको राजनीतिक दल तथा उम्मेदवारहरूको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
मतगणना पालिका वाइज गर्ने सर्वदलीय बैठकको निर्णय अनुसार सुरु गरिएको छ । निर्णय अनुसार हाल हरिपुर्वा नगरपालिका भित्रका मतदान केन्द्रबाट मतगणना प्रारम्भ गरिएको छ । सुरुवाती चरणमा हरिपुर्वा नपा-२ स्थित रामजानकी मठ पोखरीया टोल र हरिपुर्वा नपा-८ स्थित कन्या प्रावि बसन्तपुर मतदान केन्द्रको मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साथै मतगणना सर्वदलीय प्रतिनिधि, उम्मेदवारका प्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा शान्तिपूर्ण रूपमा भइरहेको जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृत थपलियाका अनुसार, मतगणना प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षा तथा व्यवस्थापकीय तयारीलाई चुस्त दुरुस्त पारिएको छ ।
बैठकमा सहायक निर्वाचन अधिकृत ज्ञानबहादुर खत्रीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ फागुन २०८२, ११ : ०४
लेखकबाट थप