धनुषाधाम (धनुषा) । पूर्वराष्ट्रपति डा.रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन् । यहाँको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्तिलाई चुनेर संसद्मा पठाउन आग्रहसमेत गरे ।
पूर्वराष्ट्रपति डा.यादवले २०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण २०८२ मै हुन लागेको भन्दै मतदातालाई गम्भीर भएर विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गरे । “हामी देशमा उत्पन्न विषम परिस्थितिका कारण आज निर्वाचनमा होमिएका छौँ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होस् र देशमा स्थिरता कायम हुने गरी जनमत आओस् भन्ने मेरो कामना छ”, उनले भने ।
पूर्वराष्ट्रपति डा.यादवले नेपालको संविधान लोकतान्त्रिक आन्दोलनका उपलब्धिको परिणाम भएको उल्लेख गर्दै त्यसमा विसं २००७, २०४६ र २०६२/६३ का जनआन्दोलन तथा मधेस आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको बताए। संघीय लोकतान्त्रिक, समावेशी तथा समानुपातिक विशेषतासहितको संविधानलाई अझ सुदृढ बनाउन सही पार्टी र सही व्यक्तिलाई छनोट गर्नुपर्ने उनको भनाइ छ ।
“संविधान र संविधानले संस्थागत गरेका उपलब्धिका लागि धेरैको बलिदानीपूर्ण योगदान छ । यसीबीचमा गत भदौ २३ र २४ मा जेनजी विद्रोह भयो, यस घटनालाई सरकारले उचित ढङ्गले व्यवस्थापन गर्नुपर्थ्यो”, डा. यादवले भने, “युवाहरूका माग जायज थिए, तर त्यही क्रममा देशभर आगजनी गराएर अस्थिरता फैलाउने प्रयास प्रतिगामी शक्तिबाट भयो । यस अवस्थामा देशको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिलाई विजयी गराउन आवश्यक छ ।”
उनले निर्वाचन सफल भएर देशमा शान्ति कायम हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिकले प्रत्यक्ष देख्नेगरी खानेपानी क्षेत्रमा काम भएको छ : मन्त्री यादव