काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले झापा-५ मा कसैसँग पनि चुनावी सहकार्यको सम्भावना नरहेको बताएका छन्।
सामाजिक सञ्जालमा विभिन्न प्रकारका अड्कलबाजी फैलिएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वसँग परामर्शपछि यस्तो स्पष्टीकरण सार्वजनिक गरेका हुन्।
तामाङका अनुसार पार्टीले वर्तमान अवस्थामा कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट नीति लिएको छ र घोषित वा अघोषित रूपमा त्यस्तो छलफलसमेत नभएको दाबी गरेका छन्। निर्वाचनपछिको संसदीय गणित फरक विषय हुन सक्ने भए पनि अहिलेको प्रतिस्पर्धामा स्वतन्त्र रूपमा अघि बढ्ने रणनीति कायम रहेको उनले बताए।
उनले हालसम्म उम्मेदवारी प्रक्रियादेखि चुनावी समीकरणसम्मका विषयमा अनेक अनुमान सार्वजनिक भए पनि आफू मतदातामाझ प्रत्यक्ष बहस र घरदैलो अभियानमार्फत सक्रिय रहेको उल्लेख गरे। मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै आफ्ना पक्षमा समर्थन गर्न आह्वानसमेत गरेका छन्।
चुनावी अभियानका क्रममा किसान, भूमिहीन सुकुम्वासी व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी र युवासम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेर अघि बढेको पनि उनले बताएका छन्।
झापा-५ मा तामाङको प्रतिस्पर्धा केपी शर्मा ओली र बालेन शाह सँग हुँदै छ। क्रमशः नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी का शीर्ष नेतृत्व एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेपछि झापा-५ राष्ट्रिय राजनीतिक वृत्तमा चासोको केन्द्र बनेको छ। पछिल्लो समय विभिन्न राजनीतिक समीकरणबारे चर्चा चलिरहेका सन्दर्भमा तामाङको धारणा सार्वजनिक भएको हो।
यसैबीच, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्लो दिन दिएको अभिव्यक्तिमा देशलाई अस्थिर बनाउने प्रवृत्तिविरुद्ध नेपाली काँग्रेस र एमालेसँग सहकार्य आवश्यक हुन सक्ने संकेत गरेका थिए। उक्त पृष्ठभूमिमा पनि चुनावी तालमेल सम्बन्धी अड्कलबाजी बढेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ फागुन २०८२, १३ : १५
लेखकबाट थप