टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली

एजेन्सी

शनिबार, ०२ फागुन २०८२, ०८ : १९
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली

एजेन्सी । फेब्रुअरी १५ मा श्रीलङ्काको कोलम्बोमा हुने टी-२० विश्वकपको बहुप्रतिक्षित भारत-पाकिस्तान खेलमा वर्षाले बाधा पुर्‍याउने देखिएको छ। मौसम पूर्वानुमान अनुसार उक्त दिन कोलम्बोका करिब ६० प्रतिशत इलाकामा वर्षाको सम्भावना रहेको छ । जसका कारण क्रिकेट जगतकै ठूलो प्रतिद्वन्द्वीबीचको यो खेल रद्ध हुन सक्ने चिन्ता थपिएको छ।

यसैबीच, भारतीय टोली शुक्रबार राति १० बजे कोलम्बो पुगिसकेको छ। भारतले यसअघिका खेलमा अमेरिका र नामिबियालाई पराजित गरिसकेको छ भने पाकिस्तानले पनि अमेरिका र नेदरल्यान्ड्समाथि जित दर्ता गरेको छ। फेब्रुअरी १५ को खेल जित्ने टोलीले अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउनेछ।

मौसम विभागका अनुसार फेब्रुअरी १५ का दिन २४ सै घण्टा वर्षाको अनुमान गरिएको छ। विशेषगरी बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ६० प्रतिशत र खेल हुने समय अर्थात् साँझ ७ देखि राति १२ बजेसम्म करिब १० देखि २० प्रतिशत वर्षा हुन सक्ने सम्भावना छ। यदि वर्षाका कारण खेल हुन सकेन भने दुवै टोलीले १-१ अंक बाँड्नेछन्, किनभने समूह चरणका खेलका लागि 'रिजर्भ डे' को व्यवस्था गरिएको छैन।

टी-२० विश्वकपको इतिहासमा भारत र पाकिस्तानबीच अहिलेसम्म ८ पटक भेट भएको छ । जसमा भारत ७ पटक विजयी भएको छ भने पाकिस्तानले केवल १ पटक जित हात पारेको छ। पाकिस्तानले सन् २०२१ को विश्वकपमा मात्र भारतलाई हराउन सकेको थियो।

प्रतिक्रिया दिनुहोस