एजेन्सी । लिबियाका पूर्वशासक कर्णेल मुअम्मर गद्दाफीका छोरा ५३ वर्षीय सैफ अल-इस्लाम गद्दाफीको गोली हानी हत्या गरिएको खबर सार्वजनिक भएको छ। कुनै समय आफ्ना पिताको उत्तराधिकारीका रूपमा हेरिने सैफको मृत्यु भएको पुष्टि उनका राजनीतिक टोलीका प्रमुखले मंगलबार गरेको लिबियाली समाचार एजेन्सीले जनाएको छ।
उनको मृत्युको विषयमा विरोधाभासपूर्ण विवरणहरू बाहिर आएका छन्। सैफका वकिलले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार, जिन्तान सहरस्थित उनको घरमा चार सदस्यीय कमाण्डो टोलीले उनको हत्या गरेको हो। यद्यपि, यो आक्रमणको पछाडि कसको हात छ भन्ने अझै स्पष्ट हुन सकेको छैन।
अर्कोतर्फ, सैफकी बहिनीले लिबियाली टेलिभिजनमार्फत उनको मृत्यु लिबिया र अल्जेरियाको सीमा नजिक भएको दाबी गरेकी छन्। सन् १९७२ मा जन्मेका सैफ अल-इस्लाम सन् २०११ को जनविद्रोहमा आफ्ना पिताको सत्ताच्युत र मृत्यु हुनुअघि लिबियाको सबैभन्दा प्रभावशाली र शक्तिशाली व्यक्तित्व मानिन्थे। उनले सन् २००० देखि गद्दाफी शासनको पतन हुनुअघिसम्म लिबियाको पश्चिमा देशहरूसँगको सम्बन्ध सुधार्न र पितालाई परमाणु हतियार कार्यक्रम त्याग्न राजी गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।
सन् २०११ को सरकार विरोधी प्रदर्शनलाई निर्ममतापूर्वक दबाउन भूमिका खेलेको आरोपमा उनीमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतले मानवता विरुद्धको अपराधमा मुद्दा चलाउन वारेन्ट जारी गरेको थियो। यसैगरी, सन् २०१५ मा लिबियाको एक अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।
पिताको सत्ता ढलेपछि सैफ झण्डै ६ वर्षसम्म जिन्तान सहरको एक मिलिसिया समूहको कैदमा रहेका थिए। पछिल्लो समय उनी राजनीतिमा पुनः सक्रिय हुन खोज्दै थिए र सन् २०२१ मा उनले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने घोषणा समेत गरेका थिए। तर, सो निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०८२, ०७ : ४७
लेखकबाट थप