सिन्धुली-२ मा बागी उम्मेदवारी फिर्ता गराउन गजुरेललाई ‘प्रचण्ड’को निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०८२, १४ : २२
सिन्धुली-२ मा बागी उम्मेदवारी फिर्ता गराउन गजुरेललाई ‘प्रचण्ड’को निर्देशन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ मा देखिएको आन्तरिक असहमतिलाई व्यवस्थापन गर्न पहल थालेको छ। पार्टीले उक्त क्षेत्रमा बागी रूपमा उम्मेदवारी दर्ता गराएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता गराउन नेता हरिबोल गजुरेललाई जिम्मेवारी तोकेको छ।

पार्टी स्रोतका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले गजुरेललाई बागी उम्मेदवारी फिर्ता गराई पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनाउन निर्देशन दिएका हुन्। गजुरेल बागी उम्मेदवारका प्रस्तावक रहेको भन्दै पार्टी नेतृत्वले औपचारिक रूपमा हस्तक्षेप गरेको जनाइएको छ।

सिन्धुली-२ मा पार्टीका आधिकारिक उम्मेदवार राजन दाहालविरुद्ध महेश्वर दाहालले उम्मेदवारी दिएका छन्। उक्त उम्मेदवारीमा हरिबोल गजुरेलको समर्थन रहेको बताइएपछि पार्टी नेतृत्वले संगठनात्मक अनुशासन र चुनावी एकतालाई प्राथमिकतामा राख्दै आवश्यक कदम चालेको हो।

 

पार्टीले आधिकारिक उम्मेदवारको पक्षमा एकीकृत रूपमा निर्वाचनमा जाने नीति लिएको भन्दै आन्तरिक मतभेद समाधान गरी चुनावी प्रतिस्पर्धालाई व्यवस्थित बनाउने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस