काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको एकता पक्षधरसमूहबीच बुधबार (आज) एकता हुँदैछ। दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एक कार्यक्रमका बीच उनी नेकपासँगको एकतामा जान लागेका हुन् । उनको नेकपा प्रवेशलाई रणनीतिक अर्थमा नेपाली कम्युनिष्ट पार्टीले प्रचार गर्न खोजेको छ ।
उपत्यकामा कमजोर पोजिसनमा रहेको नेपाली कम्युनिष्ट पार्टी सायमीको प्रवेशसँगै केही उत्साहित देखिएको छ । खासगरी नेकपाको काठमाडौं उपत्यकामा बलियो जनमत भएका उम्मेदवार नभईरहेका बेला उपत्यकाका स्थानीय रैथानेहरुसँगको बलियो घनिष्ठ सम्वन्धमा रहेका सायमीको पार्टी प्रवेशले नेकपा उत्साहित हुनु स्वभाविक भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
२०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको चुनावमा भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका बालेन शाहसँग उनी स्वतन्त्रमै प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनको चुनाव चिहृन आँखीझ्यालमा १३ हजार ७७० जना मतदाताले मत दिएका थिए ।
सायमीको नेकपा प्रवेशसँगै नेकपा काठमाडौंको खासगरी क्षेत्र नम्बर ८ मा बलियो देखिन पुगेको छ । सायमी आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार हुन लागेका छन् ।
उनी यस अगाडी २०७९ को प्रतिनिधिसभा चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठसँग उनी पराजित भएका थिए, त्यसबेला । उनले ६ हजार १७९ मत पाएका थिए । उनी त्यसबेलाका कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार, एमालेका उम्मेदवार भन्दा बढी मत ल्याई रास्वपाका श्रेष्ठका निकटतम प्रतिद्दन्द्दी भएका थिए ।
चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भए । स्वतन्त्र तथा वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रयासमा लागे । पछिल्लो समयमा सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा जोडिएका थिए । राष्ट्रिय मुक्ति पार्टीमा उनी महतोपछिको वरिष्ठ उपाध्यक्ष थिए । तर महतोसँग उनी धेरै समय टिक्न सकेनन् । अन्ततः उनी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएर तारा चुनाव चिन्ह्र लिएर चुनावी मैदानमा उत्रन लागेका हुन् ।
उनी काठमाडौंका रैथानेहरुका बीचमा लोकप्रिय छन् । कारण हो, स्थानीय मुद्दामा उनले गर्ने गरेको वकालत र अभियान । २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा सडक विस्तार अभियान चलाएपछि बिचल्लीमा परेकाहरूको आवाज बनेका थिए, उनी । सरकारले सडक विस्तार गर्दा सर्वस्व भएका एकजना साथीले आत्महत्या गरेको थाहा पाएपछि डोजर आतंकको विरोध र संस्कृति, सभ्यताको संरक्षणमा सायमी निस्किएका थिए ।
काठमाडौंका रैथानेहरुका अन्य केही समस्या देखियो की त्यहाँ सुरुमै पुग्नेमा सायमी पर्छन् । जसकाकारण पनि उनलाई रैथानेहरुले आफना दुखसुखका साथी सम्झन्छन् ।हुन त उनी सुरु देखि नै वामपन्थी पृष्ठभूमिका मानिस हुन् । उनका बुवा जीवनराज मानन्धर पुराना वामपन्थी नेता हुन् । कुनै समय कालीमाटीस्थित उनको घरमा मनमोहन अधिकारी, मदन भण्डारीलगायत नेताहरूले सेल्टर लिन्थे । आज पनि उनी त्यही घरमा बस्छन् ।
बुबा राजनीतिज्ञ भए पनि उनी भने त्यति सक्रिय थिएनन् । दलीय राजनीतिमा उनले भाग लिएनन् । तर जव काठमाडौं उपत्यकाका स्थानीय रैथानेहरुको घर भत्काउन डोजर आतंक चल्न थाल्यो, त्यसपछि उनी स्थानीयको पक्षका बुलन्द आवाज बन्न थाले ।
५२ वर्षीय सायमी स्थानीयका भरपर्दाे नेता मानिन्छन् । उनी राजनीतिक रुपमा निक्कै सचेत देखिन्छन् । काठमाडौं महानगरमा स्वतन्त्रमा उम्मेदवार भएर १३ हजार ७७० मत ल्याउँदा अर्का स्वतन्त्र उम्मदवार बनेर चुनाव जितेका बालेन शाहको विजय रयालीमा उनी सँगै देखिएका थिए । उनीहरू एउटै गाडीमा चढेर धन्यवाद र्यालीमा सहभागी भएका थिए ।
त्यसबेला बालेनको तुलनामा उनले मिडियामा एकदमै कम पहुँच पाए । उनी प्रचारमा खास ध्यान दिने नेतामा भने पदैनन् । तर काठमाडौंको गुठीलगायतका सम्पदा संरक्षणमा आन्दोलनको नेतृत्व उनले गरेका छन् । भित्रभित्र स्थानीयका समस्यामा भिजेका उनको नेकपा प्रवेशले नेकपालाई उपत्यकामा बलियो बनाउने देखिएको छ । काठमाडौंवासीको समस्या समाधानमा नियमित सङ्घर्ष गरिरहेका सायमी उपत्यका सरोकार मञ्चक अध्यक्ष पनि थिए ।
सायमीले काठमाडौंको समस्यालाई लिएर झण्डै ढेड दशकदेखि सरोकार राख्दै आएका छन् । त्यसमाथि सांस्कृतिक सम्पदा संरक्षणमा उनले निरन्तर खबरदारी गरिरहेका छन् । पहिल्यैदेखि चलिआएका हरेक पर्व र संस्कृति संरक्षणको मुद्दालाई उनले सधैँ प्राथमिकतामा राखेर अभियान चलाएका थिए । काठमाडौंको अस्तित्व बचाउन उनी सधैँ सक्रिय भएर लागिरहेका थिए ।
उनले फोहोर व्यवस्थापनको विषय चुनावहरुमा विशेष रूपमा उठाउँदै आईरहेका छन् । सायमीका लागि स्मार्ट सिटी भनेको काठमाडौंकै मौलिकता जोगाउनु हो । स्मार्टसिटीको नाममा उपत्यकाको उत्पादनशील भूमि नष्ट हुन नहुने तर्क उनको छ । भाषा, संस्कृति, मठ मन्दिर, गुठी संरक्षणजस्ता मुद्दा उनका प्राथमिकतामा छन् ।
खासमा भन्दा सायमी परापूर्वकालदेखि मान्दै आएको मठमन्दिर, विहार बही, ननी, चुक, गुम्बा, चैत्य, पाटी पौवा फल्चा, गुठी, भाषा, लिपि, जग्गा जमिन र थाकथलो सुरक्षामा लाग्दै आएका अभियन्ता हुन् । जसले स्थानीय रैथानेका लागि उनी भरपर्दाे नेता बन्दै आएका छन् । सोहीकारण उनको नेकपा प्रवेशले उपत्यकाका रैथाने साथ पाउनेमा नेकपा आशाबादी बन्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, ०९ : १६
लेखकबाट थप