काठमाडौं । फागुन २१ नजिकिँदै गर्दा राजनीतिमा नयाँ तरंगहरु देखा परिरहेका छ् । पुराना कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राजनीति प्रति बढ्दो असन्तोषका बीच वैकल्पिक शक्तिहरू नयाँ राजनीतिक प्रयोगतर्फ अघि बढेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ, नागरिक उन्मुक्तिका रेशम चौध्री, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, सागर ढकाल, सुधन गुरुङ लगायत मिलेर एकै पार्टी बनाउने कि छुट्टाछुट्टै पार्टी बनाएर चुनावी सहकार्य गर्ने ? यही प्रश्नले अहिले वैकल्पिक राजनीतिक शक्तिलाई पनि तताएको छ । यस बहसको केन्द्रमा छन्, रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाह ।
केही दिनअघि सार्वजनिक भएका समाचारहरूले राजनीतिक वृत्तमा ठूलै तरंग ल्यायो । रवि र बालेनबीच एकै पार्टी बनाउने, पार्टीको नेतृत्व रविले गर्ने, पहिलो चरणमा बालेनलाई प्रधानमन्त्री बनाउने र अर्को चुनावपछि रविलाई प्रधानमन्त्री बनाउने गरी छलफल भएको र करिब सहमति नजिक पुगेको दाबी गरियो ।
यो समाचारलाई रास्वपाका कार्यकर्ता, बालेनका समर्थकदेखि जेन–जी समूहसम्मले उत्साहका साथ स्वागत गरे । वैकल्पिक शक्तिहरू एक हुने संकेतका रूपमा यसलाई हेरियो । मध्यरातसम्म छलफलमा बसेका बालेन र रवि एकै गाडीमा निस्केर हिडेपछि धेरैतिर अब बालेन र रवि मिलेको प्रचार पनि भयो ।
तर भोलिपल्टै चितवन पुगेका रवि लामिछानेले भने, ‘तपाईंहरूको स्वादका आधारमा समाचार बनाउनुस्।’ यो वाक्यले सहमतिभन्दा असन्तोष झल्कायो । रवि–बालेनको मिलनबारे उत्साहित माहोल अचानक शंकामा बदलियो । त्यसको भोलिपल्ट बुधबार बेलुकी कुपन्डोलमा बालेनले राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टलगायत केही सञ्चारकर्मीहरूसँग अलग छलफल गरे । छुट्टै पार्टी गठनको तयारी छलफल थाले, यसले फेरि अर्काे नयाँ तरंग ल्याईदिएको छ ।
बालेनको छुट्टै भेटघाट र अर्को तरंग
बालेनले बुधबार बेलुकी विभिन्न क्षेत्रका मानिसहरुसँग नयाँ राजनीतिक कोर्शका बारेमा छलफल गरे । उनले त्यहाँ आफु झापा ५ मा केपी ओलीसँग चुनाव लड्न तयार रहेको सन्देश पनि दिए । बालेनले यो भेटघाट आज बिहिबार पनि जारी राख्ने बताएर बोलाइएकाहरुलाई बिदा गरे । बालेनले थालेको यो अलग भेटघाट र छलफलले झन् अर्काे अन्यौल बढायो ।
बालेन शाह नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, मिलन पाण्डे, जेन–जी फ्रन्टकी संयोजक रक्षा बम, कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल, मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषि धमला लगायतसँग अलग पार्टी बनाउने विषयमा छलफलमा जुटेको समाचार बाहिरियो । यो छलफल आकस्मिक थिएन, बरु “निरन्तर चलिरहेको संवादको हिस्सा” भएको दाबी गरियो ।
यसले बैकल्पिक राजनीतिक शक्तिहरुका बीचमा फेरि अर्काे खालको तरंग ल्याईदिएको छ । बालेन रवि कमलपोखरीमा भएको भेट र एउटै गाडीमा बाहिरिदा जसरी उनीहरुका समर्थकहरुमा खुसीको तरंग ल्याईदिएको थियो, बालेनले अलग पार्टी बनाउन गरेको गृहकार्यले थप संसय पैदा गरिदिएको छ ।
पुरानै दूरीको पृष्ठभूमि
रवि र बालेनको सम्बन्ध सधैं सरल थिएन । जेन–जी आन्दोलनका बेला आन्दोलनमा रविको नाम नआओस् भनेर बालेनले सचेत भूमिका खेलेको चर्चा त्यतिबेलै थियो । जब रवि जेलबाट बाहिरिए, बालेन पक्षधर समूहले ‘हामीले रविलाई नेता मानेका छैनौं’ भन्ने सन्देश खुलेर दिएको थियो । त्यसबेला नख्खु कारागारबाट रवि जेलमुक्त हुँदा असन्तुष्टि र विरोध पुराना दलका कार्यकर्ताबाट भन्दा बढी बालेन निकट समूहबाट आएको तथ्यले दुई धारबीचको दूरी स्पष्ट पार्थ्यो ।
जेन–जी समूहहरू टुक्रिँदै जान थालेपछि, आ–आफ्नो स्वार्थमा मच्छापच्छी बढेपछि भने वैकल्पिक राजनीतिमा ‘रवि र बालेन मिल्नै पर्छ’ भन्ने आवाज बलियो हुँदै गयो । यही क्रममा कमलपोखरीमा मध्यरातसम्म रवि र बालेनबीच भेट भयो । एकै गाडीमा उनीहरू बाहिरिएको दृश्यले नयाँ राजनीतिक संकेत दियो । तर बालेनले थालेको कुपन्डोलको पछिल्लो छलफलले त्यो आशालाई फेरि प्रश्नचिन्हमा राखिदिएको छ ।
दुई मोडेल, एकै साथ तयारी
यी सबै घटनाक्रम हेर्दा रवि र बालेन अहिले दुईवटा विकल्प एकै साथ खुला राखेर अघि बढिरहेको देखिन्छ ।
पहिलो विकल्प
– बालेन र रवि एकै पार्टी (रास्वपा) मा रहने
– पार्टी नेतृत्व रवि लामिछानेले गर्ने
– सरकारको नेतृत्व पनि बालेनले गर्ने (भावी प्रधानमन्त्री बालेन भनेर जाने)
दोस्रो विकल्प
– रविः रास्वपा (चुनाव चिन्ह ‘घण्टी’)
– बालेनः देश विकास पार्टी (चुनाव चिन्ह ‘लौरो’)
– कुलमान घिसिङः उज्यालो नेपाल पार्टी
– रेशम चौधरीः नागरिक उन्मुक्ति
– मिलन पाण्डे
– सागर ढकाल, रक्षा बम, जेन–जी समूह सबै मिलेर देशभर चुनावी गठबन्धन गर्ने ।
यी दुवै विकल्प खुल्ला राखेर जाने विषयमा पनि उनीहरुका बीचमा छलफल भएको हुनसक्ने देखिएको छ । रविको पार्टी निर्वाचन आयोगमा दर्ता छ । बालेनको नाममै पार्टी दर्ता नभएपनि उनी देश विकास पार्टीका नाममा राजनीतिमा आउन चाहान्छन् ।
देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । यसको अध्यक्ष सन्ध्या खनाल हुन् र चुनाव चिन्ह ‘लौरो’ नै छ । यो पार्टी बालेनकै योजनामा निर्वाचन आयोगमा दर्ता गराएको बुझिएको छ । यसले बालेन छुट्टै पार्टी लिएर अघि बढ्ने तयारीमा रहेको संकेत गर्छ । कुलमान घिसिङको पनि उज्यालो नेपाल पार्टी पूर्व उर्जासचिवको नेतृत्वमा दर्ता छ । यी सवै पार्टीहरुले अलग अलग पार्टी बनाएपनि चुनावमा गठबन्धन गरेर जाने दोस्रो विकल्पमा उनीहरु देखिन्छन् ।
स्रोतहरूका अनुसार यी सबै वैकल्पिक शक्तिहरूको साझा निष्कर्ष एउटै छ, पुराना कां?ग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई चुनौती दिन एक्लै सम्भव छैन । त्यसैले नयाँ शक्तिहरू एक भएर, कम्तीमा चुनावी मोर्चामा भए पनि गठबन्धन गर्नैपर्छ ।
त्यही भएर उनीहरू अहिले ‘एक पार्टी बनाउने कि गठबन्धन गर्ने’ भन्ने दुवै कार्ड हातमा राखेर होमवर्क तीव्र बनाइरहेका छन् । जुन विकल्पले निर्वाचनमा बढी फाइदा दिन्छ, जुन कार्ड फाल्दा पुराना दलहरू ‘साइज’ मा राख्न सकिन्छ, त्यही रणनीतिमा जाने तयारीमा बालेन रविहरु रहेको देखिएको राजनीतिक वृत्तमा चर्चा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन शाह
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा