काठमाडौँ । फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक भविष्य अन्योलमा पर्दै गएको छ। काठमाडौँ–१ बाट उम्मेदवार बन्ने तयारीमा रहेका मिश्र पार्टीभित्रकै गुटबन्दी र उम्मेदवार सिफारिससम्बन्धी विवादका कारण थप संकटमा देखिएका छन्।
विवेकशील साझा पार्टी हुँदै राप्रपा प्रवेश गरेका मिश्र यसअघि दुई पटक काठमाडौँ–१ बाट चुनावी प्रतिस्पर्धामा पराजित भइसकेका छन्। साझा पार्टीबाट उम्मेदवार बनेर पहिलो पटक चुनाव हारेका उनी २०७४ सालमा राप्रपाबाट पुनः उम्मेदवार बने पनि जित निकाल्न सकेनन्। दुई पटकको पराजयपछि तेस्रो प्रयासका रूपमा उनी फेरि चुनावी मैदानमा उत्रिन खोजिरहेका छन्। तर, यसपटक बाहिरी प्रतिस्पर्धाभन्दा पनि पार्टीभित्रकै असहयोग र विवाद उनको मुख्य चुनौती बनेको छ।
दुई पटक पराजय भोगिसकेका मिश्रका लागि तेस्रो प्रयास सहज देखिँदैन। पार्टीभित्रकै विवाद, कीर्ते आरोप र असहयोगको सम्भावनाले चुनावअघि नै उनको भविष्यमा कालो बादल मडारिएको पार्टीकै नेताहरु बताउँछन् ।
राप्रपाले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न क्षेत्रीय समितिहरूलाई परिपत्र जारी गरिसकेको छ। सोही परिपत्रअनुसार काठमाडौँ–१ मा उम्मेदवार सिफारिसको प्रक्रिया चलिरहँदा एउटै क्षेत्रबाट दुई वटा छुट्टाछुट्टै नामावली केन्द्रमा पठाइएपछि विवाद चर्किएको हो।
एक समूहले पुस १ गते बसेको बैठकबाट पूर्वअध्यक्ष पशुपति शमशेर राणा, सहकोषाध्यक्ष सोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको दाबी गरेको छ। उक्त सूचीमा मिश्रको नाम समावेश गरिएको छैन। संस्थापन निकट भनिने सो समूहले उप्रेतीलाई उम्मेदवार बनाउने उद्देश्यका साथ मिश्रलाई पाखा लगाएर सिफारिस पठाएको आरोप लागेको छ।
त्यसको केही दिनपछि पुस ६ गते क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठकै अध्यक्षतामा अर्को बैठक बसेर पुनः नाम सिफारिस गरिएको छ। उक्त बैठकले मिश्रलाई पहिलो नम्बरमा राखेर केन्द्रमा नामावली पठाएको छ। यस सूचीमा रामेश्वर श्रेष्ठ र राम तुलाधर समावेश छन् भने सोभित उप्रेतीको नाम हटाइएको छ। एउटै क्षेत्रबाट फरक–फरक मितिमा दुई सूची पठाइएपछि काठमाडौँ–१ को उम्मेदवार सिफारिस विवादको केन्द्र बनेको हो।
मिश्र निकट मानिने केन्द्रीय सदस्य रञ्जन कार्कीले पुस ६ गतेको बैठकबाट गरिएको सिफारिस नै आधिकारिक भएको दाबी गरेका छन्। उनका अनुसार पुस १ गते बसेको भनिएको बैठक अनधिकृत थियो र त्यसबाट गरिएको सिफारिस मान्य हुँदैन। तर, अर्का पक्षका नेताहरूले भने मिश्रको नाम सिफारिस भएको भनिएको कागजात नै कीर्ते भएको आरोप लगाएका छन्।
राप्रपाका केन्द्रीय सल्लाहकार समिति सदस्य मदनदास श्रेष्ठले मिश्रको सिफारिसलाई ‘बेइमानी र कीर्ते’ को संज्ञा दिएका छन्। उनका अनुसार पुस १ गते बसेको बैठकमा ११ जना सदस्यको उपस्थितिमा गरिएको निर्णय सार्वजनिक भइसकेको छ र त्यसमा मिश्रको नाम छैन। मिश्रले अवैध ढंगले सिफारिस भएको हल्ला फैलाएको आरोप उनीहरूको छ।
विवादकै बीच मिश्रले पूर्वअध्यक्ष पशुपति शमशेर राणाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै क्षेत्रीय समितिको निर्णयलाई चुनौती दिएका थिए। त्यसपछि विवाद झनै चर्किएको छ। आलोचकहरूले मिश्रले राजनीतिक दबाब सिर्जना गर्न सामाजिक सञ्जालको प्रयोग गरेको आरोप लगाइरहेका छन्।
राप्रपाको विधानअनुसार क्षेत्रीय समितिबाट आएको सिफारिसका आधारमा पार्टीको संसदीय समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने व्यवस्था छ। तर, केन्द्रको हस्तक्षेपबाट मिश्र उम्मेदवार बने पनि स्थानीय तहबाट असहयोग हुन सक्ने खतरा रहेको पार्टीभित्रै चर्चा छ।
यसैबीच मिश्रको नाम पर्सा क्षेत्र नम्बर–३ बाट पनि प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस भएको छ। पर्सा–३ को क्षेत्रीय कार्यसमितिले मिश्रसहित पाँच जनाको नाम केन्द्रमा पठाएको हो। तर, मिश्र भने काठमाडौँ–१ बाटै चुनाव लड्ने अडानमा छन्।
काठमाडौँ–१ बाट दुई वटा फरक सूची सिफारिस भइसकेपछि राप्रपाभित्रको आन्तरिक द्वन्द्व सतहमा आएको छ। दुई पटक पराजय भोगिसकेका मिश्रका लागि तेस्रो प्रयास सहज देखिँदैन। पार्टीभित्रकै विवाद, कीर्ते आरोप र असहयोगको सम्भावनाले चुनावअघि नै उनको भविष्यमा कालो बादल मडारिएको पार्टीकै नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ पुस २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्रले काठमाडौँ-१ बाट गरे उम्मेदवारी दर्ता
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
पर्सा–३ बाट रवीन्द्र मिश्र प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस
फेरि 'प्रचण्डपथ'मै पार्टी खोल्ने बुद्धि कसैलाई नआओस् : रवीन्द्र मिश्र
रवीन्द्र मिश्रलाई भेट्न घरमै पुगे लिङदेन
रवीन्द्र मिश्र धरौटीमा रिहा