काठमाडौँ । बौद्धस्थित हायात रिजेन्सी होटेल र कर्मचारीबीच होटेल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ ।
२४ भदौमा जेन जेड आन्दोलनका क्रममा होटेलमा तोडफोड, आगजनी र लुटपाट भएपछि अहिले बन्द छ । होटेल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटेल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको हो ।
‘आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठुलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटेल सञ्चालन हुने अवस्था छैन’ होटेल व्यवस्थापनले एक विज्ञप्तिमार्फत भनेको छ ।
सहमतिअनुसार होटेलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउने छ । साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । होटेल बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने व्यवस्थापनले जनाएको छ ।
मर्मत-सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटेलले जनाएको छ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापकको दाबी छ ।
सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटेलले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १२ : १६
लेखकबाट थप