एजेन्सी । युक्रेनले कालोसागरमा रूसी‘स्याडो फ्लिट’ मा समावेश दुई तेल ट्यांकरमाथि समुद्री ड्रोनमार्फत् प्रहार गरेको छ ।
युक्रेनी अधिकारीहरूको पुष्टि अनुसार ‘काइरोस’ र ‘भिराट’ नामका दुवै ट्यांकर गाम्बिया झन्डा बोकेर गुडिरहेका थिए । बीबीसीले प्रमाणित गरेको भिडियोमा पानीमा तीव्र गतिमा अघि बढेका ड्रोन ट्यांकरमा ठोक्किएर आगोको गोला बनेको र कालो धुवाँ आकाशमा उडेको देखिन्छ ।
ट्यांकरहरू टर्की तट आसपास शुक्रबार आक्रमणमा परे भने ‘भिराट’ शनिबार पुनः लक्ष्य भएको बताइएको छ । मानवीय क्षति भने नभएको अधिकारीहरूले जनाएका छन् । यी जहाजहरू रूसले पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गर्दै आएको भनिने ‘स्याडो फ्लिट’मा पर्ने मानिन्छन् । पुराना तथा अस्पष्ट स्वामित्व भएका सयौं जहाज प्रयोग गरी रूसी तेललाई बजारसम्म लैजान यसको उपयोग हुँदै आएको बताइन्छ ।
काइरोस कालोसागरको दक्षिण–पश्चिम भागमा र भिराट पूर्वतिर रहेको मध्य क्षेत्रमा प्रहारमा परेको जनाइएको छ । दुवै जहाज प्रतिबन्ध सूचीमा परेका छन् । बीबीसी युक्रेनी सेवाका स्रोतहरूका अनुसार आक्रमणमा युक्रेनी सुरक्षा सेवाले बनाएको ‘सी बेबी’ नामक नौसैनिक ड्रोन प्रयोग गरिएको हो ।
टर्की अधिकारीहरूले दुवै ट्यांकरलाई सहयोग गरिरहेको र काइरोसमा लागेको आगो निभाउने प्रयास गरिएको भिडियोसमेत सार्वजनिक गरेका छन् । विश्लेषकहरूका अनुसार यो आक्रमण रूसको तेल आम्दानीमै चोट पुर्याउने उद्देश्यले युक्रेनले आक्रमण रणनीति कडा बनाएको संकेत हो ।
यसैबीच, क्यास्पियन क्षेत्रको तेल ढुवानी गर्ने प्रमुख कन्सोर्टियमले नोभोरोसिस्क बन्दरगाह नजिक मानवरहित डुंगाको आक्रमणपछि बन्दरगाहबाट तेल लोड गर्ने काम स्थगित गरेको जनाएको छ । कन्सोर्टियमका अनुसार मुरिङ पोइन्टमा गम्भीर क्षति पुगेको छ।
उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शीर्ष सुरक्षा अधिकारी रुस्तेम उमेरोभको नेतृत्वमा टोली अमेरिकातर्फ प्रस्थान गरेको र युद्ध अन्त्यसम्बन्धी सहमति–वार्ता निरन्तरता दिने जनाएका छन् ।
अघिल्ला प्रमुख वार्ताकार आन्द्रिय येर्माकको निवासमा भ्रष्टाचारविरोधी निकायले छापा मारेसँगै उनले राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ मंसिर २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने