एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०८२, ०६ : ४९
एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।

यो खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।

तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।

यता, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो ।

अंक तालिकामा काठमाण्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा छ । दुवै टिम आजको खेल जितेर प्रतियोगितामा कमब्याक गर्न चाहन्छन् ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

अंक तालिकामा अपराजित सुदूरपश्चिम र विराटनगरले समान ६ अंक बनाएका छन् । नेटरनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ भने विराटनगर दोस्रो स्थानमा छ । समान दुई अंक भएका काठमाडौं, लुम्बिनी, चितवन र कर्णाली क्रमशः तेस्रो, चौथो, पाँचौ र छैठौं स्थानमा छन् ।

जनकपुर र पोखराले भने दुई खेल खेल्दासमेत अंक जोड्न सकेका छैनन् ।