योयो प्लाइउड उद्योग बन्द, ६ सय मजदुर बेरोजगार

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०८२, १० : ५३
योयो प्लाइउड उद्योग बन्द, ६ सय मजदुर बेरोजगार

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इन्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् ।

‘अखिल नेपाल औद्योगिक मजदुर संघ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन् ।

उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुरहरू दुई खेमामा विभाजित भएका छन् । कोहलपुर–१५ निवासी मजदुर शोभाराम यादवले ट्रेड युनियनका नाममा भएको आन्दोलनले रोजगारी गुमेकोमा चिन्ता व्यक्त गरे ।

कतिपय मजदुरहरूले भने आफूहरूको सहमतिबिना, उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको फर्जी नाम राखेर ट्रेड युनियन गठन गरिएको भन्दै त्यसको खारेजीको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन् । खारेजीको माग गर्ने मजदुरहरूलाई ट्रेड युनियनका नेताहरूले डरत्रास र धम्की दिने गरेको यादवले बताए । 

कोहलपुर–६ निवासी मजदुर गीता थारुले अहिले आफूहरूलाई संगठनभन्दा पनि रोजगारीको खाँचो रहेको बताइन् । संगठनको आन्दोलनका कारण आफ्नो दुई महिनादेखि जागिर गुमेको उनको भनाइ छ ।

उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले ट्रेड युनियनको नेतृत्व गर्ने अधिकांश सदस्यहरू उद्योगमा कार्यरत नै नरहेको दाबी गरे । उनले फर्जी नाम राखेर दिएको निवेदनलाई प्रमाणीकरण नै नगरी श्रम कार्यालय, नेपालगञ्जले प्रतिष्ठानस्तरको ट्रेड युनियन गठन गरेकोमा आपत्ति जनाए । 

श्रेष्ठका अनुसार उद्योग पूर्णरूपमा सञ्चालन हुन नपाउँदै मजदुर संगठनका नाममा अवरोध सिर्जना भएको बताए । पहिलेदेखि नै पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा दैनिक करिब रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगलाई श्रम कार्यालयले वास्तविकता नबुझी खाता रोक्का गरिदिएपछि बन्द गर्न बाध्य हुनुपरेको उनको भनाइ छ ।

“हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ”, श्रेष्ठले भने, “घाटामा गएको उद्योगले अहिले तत्काल पारिश्रमिक वृद्धि र बोनस खुवाउनसक्ने अवस्थामा छैनौँ, तर परिस्थिति सुध्रिनासाथ सेवा सुविधा बढाउँदै लैजाने हाम्रो सोच छ ।”

श्रेष्ठले उद्योग बन्द हुँदा दैनिक १० लाखभन्दा बढी घाटा भइरहेको भन्दै सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन सम्बन्धित निकायसँग अनुरोध गरे ।  

श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले योयो प्लाइउडका मजदुरहरू विभाजित भएको स्वीकार गरे । उनका अनुसार उचित पारिश्रमिक नपाएको भन्दै केही मजदुरद्वारा संगठनका नाममा परेको उजुरीमाथि कारबाही हुँदै जाँदा उद्योगको खाता रोक्का गरिएको थियो । अहिले मजदुर र उद्योग प्रतिनिधिहरू दुवै पक्ष उद्योग सञ्चालनको वातावरण बनाइदिन माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस